निजगढ,गठबन्धन सरिक दलहरुबीच वडा अध्यक्षको भागबण्डा गर्न सकस बोहोर्दै आएको निजगढको नेपाली कांग्रेश अहिले पार्टीबाट वडा अध्यक्षहरुको नाम छनौंट गर्न नसकेर अर्को समस्यामा परेको छ । संस्थापन र संस्थापन इतर पक्षका नेता कार्यकर्ताहरुले क्षेत्रीय समितिमा वडा अध्यक्षको लागि छुट्टाछुट्टै नाम पेस गरेपछि निजगढ कांग्रेस समस्या थप बल्झिएको हो ।
स्रोतका अनुसार कांग्रेशको वडा र नगर समितिबाट सिफारिस भएर गएको नाम संस्थापन इतर पक्षको बर्चश्व रहेको क्षेत्र नम्बर १ क प्रदेश समितिले हटाएर एकपक्षीय रुपमा एक÷एक जनाको मात्रै नाम क्षेत्रीय समितिमा पठाएपछि संस्थापन पक्षले पनि क्षेत्र नम्बर १ क्षेत्रीय समितिमा छुट्टै उम्मेदवारहरुको नाम पेस गरेको छ । कांग्रेशका एक नेताले दिएको जानकारी अनुसार संस्थापन पक्षले निजगढ वडा नम्बर ४ बाट कैलास धामी, वडा नम्बर ५ बाट सहदेव गौतम, ६ बाट भिमबहादुर स्याङ्गतान, वडा नम्बर ७ नम्बरबाट सुमन लामा वडा नम्बर ८ बाट नरेश घिमिरे ९ बाट बलदेव मगर र वडा नम्बर ११ बाट शंकर रुम्बालाई उम्मेदवार बनाउन क्षेत्रीय समितिमा नाम पेस गरेको हो ।
सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादव अध्यक्षमा रहेको क्षेत्र नम्बर १ क्षेत्रीय समितिमा संस्थापन पक्षको बर्चश्व रहेको र निजगढमा वडा अध्यक्षको उम्मेदवारी पनि सोहीअनुसार संस्थापन पक्षकाले नै पाउने बताइएको छ । क्षेत्र नम्बर १ क समितिले क्षेत्रीय समितिमा पेस गरेका अन्य ६ वटा वडाका अध्यक्षको हकमा भने प्रकृया अनुसार सिफारिस भएको र दुबै पक्षसंग नजिक रहेका उम्मेदवार परेको भन्दै उनीहरुको नाममा भने निजगढको संस्थापन पक्ष केही लचक देखिएको छ । कांग्रेशमा वडा अध्यक्षको नाममा अन्तिम निर्णय गर्ने निकाय क्षेत्रीय समिति नै हो ।
सत्ता गठबन्धन दल माओवादी र नेकपा एकिकृत समाजवादीलाई वडा अध्यक्ष पद दिने बारेमा पनि संस्थापन पक्ष र इतर पक्षबीच फरक धार देखिएको छ । गठबन्धनको बैठकमा भएको सहमति अनुसार निजगढमा मेयर पद नेपाली कांग्रेश र उपमेयर सहित ५ वटा वडा माओवादीलाई दिने सहमति भएको बताइएको छ । तर कुन वडा कसलाई दिने भन्ने बारेमा अझै टुङ्गो लाग्न सकेको छैन । संस्थापन पक्ष गठबन्धनभित्रको माओवादीलाई उपमेयर र केही वडामा वडा सदस्यमात्रै दिनुपर्ने पक्षमा छ । समाजवादीलाई वडा अध्यक्ष दिने बारेमा दुबै पक्ष असहमत देखिएका छन ।
मेयर पदमा सुरेशकुमार खनाल, महेशी कुवर र पेमासिद्धि लामाको नाम वडा र नगर समितिको सिफारिसमा परेको थियो । तर प्रदेश क समितिले महेशी कुवरको नाम हटाएर सिता मैनाली र मिना लामाको नाम समेत थप गरी प्रदेश समितिमा पठाएपछि मेयर उपमेयरको टिकटमा पनि चर्को हानाथाप छ । प्रकृया विपरीत महेशी कुवरको नाम हटाएर प्रदेश क समितिले पठाएको नाममा क्षेत्रीय समितिले पुनरावलोकन गर्दै महेशी कुवरको नाम पनि थपेर निर्णयको लागि मधेस प्रदेश समिति जनकपुरमा पठाएको छ । कांग्रेशको मेयर उपमेयरको टिकट वितरण गर्ने वितरण गर्ने निकाय प्रदेश समिति हो र अहिले निजगढका दुबै पक्षबाट टिकट आकांक्षीहरु जनकपुरमा धर्ना दिएर बसेका छन ।