जनकपुरधाम,मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनबाट पछि हट्नुभएको छ ।नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले यसअघि शुक्रबारको लागि तय गरिएको भएपनि अब अगामी जेठ ८ गते मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराउनुभयो ।सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण अन्तिम समयमा आएर उहाँ विश्वासको मत लिन पछाडि हट्नुभएको हो ।

उहाँलाई विश्वासको मत लिनका लागि आज बिहान ११ बजे सदन आह्वान गरिएको थियो ।गठबन्धनभित्र र आफ्नै पार्टीभित्रको असन्तुष्टिको कारण फ्लोर क्रस गर्ने जोखिमपछि मुख्यमन्त्री यादव पछाडि हट्नुभएको हो ।तत्कालीन लोसपाबाट निर्वाचित केही प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गर्न सक्ने सूचना आएपछि विश्वासको मतमा ढिलाइ हुन गएको बताइएको छ ।जसपा नेपालसँग पार्टी एकता गरिसक्दा पनि विश्वासको मतमा फ्लोर क्रस गर्ने तयारी गरेपछि जसपा नेपालले आधिकारिक निर्णयसमेत गर्न सकेको छैन, जुनकारण बिहान डाकिएको सदनको बैठक ढिलाइ भएको एक मन्त्रीले बताए ।

यद्यपि बैठक भने अन्य कार्यसूचिमा प्रवेश गरेर चल्ने जनाएको छ । गत वैशाख २१ गते जनमत पार्टीले मधेश सरकारबाट समर्थन फिर्ता लिएको थियो ।यसपछि सरकारको सिफारिसमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन गत प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभाको सातौं बैठक बोलाइएको छ ।कानुनी व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । हाल मधेस प्रदेश सभामा १०२ जना प्रदेशसभा सदस्य छन् । सरकार टिकाउन कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्ने भए पनि अहिले सरकारसँग ६३ जना सांसदको समर्थन रहेको बताइएको छ ।सरकारलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका २६ तथा नेपाल कम्युनिस्ट पार्टीका १५ जना प्रदेश सभा सदस्यको समर्थन छ ।

Leave a Reply