सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिम्रौनगढका स्थानीय सनफी यादव रहेका छन् ।यादव सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवारका सहयोगी रहेको बताइएको छ । प्रहरीले उनलाई केही दिनअघि काठमाडौंको सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो । यादवलाई बारा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
आफूमाथि हातपात भएको भन्दै सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालले नगर प्रमुख कलवार, नगरसभा सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । जयसवालको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।नगरपालिकाको बजेटमा शीर्षक नभएको योजनाको भुक्तानी दिन नमानेको भन्दै नगर प्रमुख कलवारसहितका सहयोगीले आफुलाई घरमै बोलाएर कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत जैसवालको आरोप छ ।
गत मंसिरमा सम्पन्न विश्वप्रसिद्ध महागढीमाई मेलाका लागि छुट्टाइएको १० लाख रकम भुक्तानी गर्नुपर्नेमा नगर प्रमुखले २७ लाख भुक्तानी गर्न दवाव दिएको अधिकृत जयसवालले बताउनुभएको छ । यसैगरी कार्यपालिकाको निर्णय नभई वृक्षरोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख, बाटो सरसफाइमा १९ लाख भुक्तानी गर्न नगर प्रमुख कलवारले दिएको दवाव आफूले अस्वीकार गरेपछि कुटपिट भएको जयसवालले बताउँदै आउनुभएको छ ।
बैशाख १६ गते भएको उक्त घटनापछि नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । कर्मचारीहरुको आन्दोलनका कारण कार्यालयको सेवा पूर्णरुपमा ठप्प बन्दैआएको छ ।सिम्रौनगढ नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको विवादका कारण सेवा प्रभावित भएको यो पहिलो घटना भने होइन् । नगरपालिकामा यसअघिपनि पटकपटक भएको विवादले कार्यालयको सेवा प्रभावित हुदैआएको थियो ।



















