दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बारागढी गाउँपालिका– ५ चेरवन्त पथरामा रहेको बारागढी सामुदायिक सिकाइ केन्द्रको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिकाइ केन्द्रका अध्यक्ष मुरारीप्रसाद चौधरीको अध्यक्षतामा आज आयोजित कार्यक्रममा वडा अध्यक्ष मनेजर चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।
साधारण सभामा वडा सदस्य बिनोद सहनी, सिकाइ केन्द्रका कोषाध्यक्ष हरेन्द्र प्रसाद यादव, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पिपरा बसतपुरका प्रधानाध्यापक रामनाथ दास, बारागढी गाउँपालिका कृषि शाखामा कार्यरत नायब सुब्बा अभिषेक चौधरी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिंहासनी बैरियाकी प्रधानाध्यापक सीमा चौधरी, न्यु तिलगंगा युवा क्लब चेरवन्त पथराका सदस्य राम प्रसाद चौधरी तथा शिक्षक हरेन्द्र मुखियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले सामुदायिक सिकाइ केन्द्रले स्थानीय स्तरमा शिक्षा, सीप विकास तथा सचेतनामूलक कार्यक्रममार्फत महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।कार्यक्रममा संस्थाकी पवित्री चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका प्रियात्मा चौधरीले गर्नुभएको थियो ।

















