सिमरा, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानामा संचालन भएको प्रथम खुला महिला भलिबल प्रतियोगिताको उपाधि जनशक्ति क्लब कोल्हबीले जितेको छ ।डुमरवाना विकास मञ्चको आयोजनामा भएको प्रतियोगिताको अन्तिम खेलमा सर्लाहीको लक्ष्मीनाथ क्लब हरिपुरलाई पराजित गर्दै जनशक्ति क्लब कोल्हबी विजेता बनेको हो ।
पाँच सेटसम्म चलेको उपाधि भिडन्तमा अन्तिम सेट जिनेर जनशक्ति कोल्हबीले रोमाञ्चक जित हात पारेको हो ।
विजेता जनशक्ति क्लबले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता लक्ष्मीनाथ क्लब हरिपुर सर्लाहीले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडलमा चित्त बुझाएको छ ।प्रतियोगितामा लक्ष्मीनाथ क्लब हरिपुरकी नेहा चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै, जनशक्ति क्लब कोल्हवीकी कोपिला चौधरी ‘बेस्ट स्पाइकर’ घोषित भएकी थिइन ।
प्रतियोगिताको समापन समारोह डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने वडा नं. १३ का वडा अध्यक्ष हेमनारायण चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सो अवसरमा वडा नं. १६ की वडा अध्यक्ष चयन गुरुङ, समाजसेवी रूपलाल चौधरी तथा पलट चौधरीलगायतको सहभागिता रहेको थियो ।

















