कलैया,स्थापनाको २५औं दिवस एवं रजत जयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिले आइतवार विश्व प्रसिद्ध बाराको गढीमाई मन्दिर परिसरको सरसफाइ गरेको छ ।मन्दिर परिसरमा सरसफाइ गर्न बारा र पर्सासहित मधेस प्रदेशका आठ वटै जिल्लाका आदिवासी जनजाति पत्रकार महासँघमा आवद्ध पत्रकारहरु गढीमाई मन्दिरमा पुगेका थिए । पत्रकारहरुले मन्दिर परिसरको सरसफाइ गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिनुभयो । उहाँले पञ्चबर्षीय मेलालाई दृष्टिगत गरी सरसफाइ कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो । गढीमाई मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित तुल्याउन पत्रकारले गर्न सक्ने सहयोगस्वरुप मन्दिरको सरसफाइ गरिएको प्रदेश अध्यक्ष चौधरीको भनाई छ ।
मन्दिरमा हरेक पाँच÷पाँच वर्षमा मेला लाग्ने गरेको यस वर्षको मंसिरमा गढीमाई मन्दिरमा पञ्चबर्षीय मेला लाग्दैछ ।
अहिले पनि दैनिक रुपमा सयौं भक्तजनहरु गढीमाईको दर्शन गर्न आउने गरेकाले नियमित सरसफाइको आवश्यकता भएको गढीमाई मन्दिर व्यावस्थापन समितिका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो । सरसफाइ कार्यमा सरिक भएकोमा उहाँले पत्रकारहरुलाई धन्यवाद दिनुभएको थियो ।मन्दिरमा दैनिक ठूलो परिमाणमा फोहोरमैला उत्सर्जन हुने र यसको व्यवस्थापन र सरसफाइको लागि सबैले ध्यान दिनुपर्ने मन्दिरका पूजारी शिव चौधरीले बताउनुभयो ।सरसफाइ कार्यक्रममा पत्रकारसंगै महागढीमाई नगरपालिकाका सरसफाइ कर्मचारीहरु जनपद र सश्स्त्र प्रहरी पनि खटिएका थिए । सरसफाइपछि मन्दिर परिसरमा आगामी मेला सफल पार्ने बारेमा अन्र्तक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो ।



















