निजगढ,बाराको निजगढस्थित एक होटलमा शुक्रबार राति एक युवतीको शंकास्पद मृत्यु भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले सीताकी साथी एक किशोरी र २ जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीका ३५ वर्षीय युवक महेश माझी, सोही गाउँका अर्का ३६ वर्षिय युवक सुनिल बम्जन र निजगढ ९ की वर्ष १८ की एक किशोरीलाई नियन्त्रणमा लिएको हो ।
निजगढ नगरपालिका ९ बुद्धचोकस्थित गुरुङ होटलमा निजगढ नगरपालिका १२ कुलिया घर भएकी २५ वर्षीया सीता थिङ्गको मृत्यु भएको हो ।
अन्य तीन जना साथीसँगै होटलमा पुगेकी थिङ्ग राति ११ बजे अचेत अवस्थामा भेटिएकी थिइन । सीताको घाँटी र पिडौलामा दाग देखिएकाले मृत्यु शंकास्पद रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार सीता माझी, सोही गाउँका अर्का युवक बम्जन र अर्की किशोरीसहित होटलमा पुगेकी थिइन् ।

साँझ करिब साढे सात बजे उनीहरु होटलमा प्रवेश गरेको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको छ । उनीहरुले होटलमा बसेर मदिरा पिएको र खाना खाएपछि छुट्टाछुट्टै कोठामा गएका थिए । महेश र सीता एउटा कोठामा र अर्का दुईजना भने अर्को कोठामा बसेका थिए ।
राति करिब ११ बजे महेशले अर्को कोठामा रहेकी किशोरीलाई बोलाएर सीताले बाथरुममा झुण्डिने प्रयास गरेको र आफू एम्बुलेन्स बोलाउन हिडेकोभन्दै होटलबाट निस्कएका महेश मोटरसाइकल चढेर फरार बनेका थिए । सोक्री क्रममा उनले होटल सञ्चालकलाई समेत साथी बिरामी भएकाले एम्बुलेन्स लिन जान लागेको बताएका थिए । भाग्ने क्रममा महेशले निजगढको शहिद चोकमा पुगेर गस्तिमा रहेको प्रहरीलाई समेत होटलमा एक युवतिले झुन्डिएर आत्माहत्या गरेको भन्ने खबर सुनाएका थिए ।

महेशसँगै आएका अर्का युवक पनि उनी निस्किएको केही समयपछि होटलबाट निस्किएपछि घटनास्थलमा रहेकी सीताकी साथीले होटल सञ्चालकलाई घटनाबारे खबर गरेकी थिइन ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा पुगेको प्रहरी टोली घटनास्थलमा बियरको खाली सिसीहरु तथा सीताको मोबाइल र होटलको बाथ रुमको ढोका पनि फुटेको अवस्था फेला पारेको थियो । महेशको मोबाइल भने सीताको घरमा फेला परेको थियो । महेशले केही समयअघि मात्रै घरमा पुगेर सीतालाई मोटरसाइकलमा होलल ल्याएका हुन ।सीताकी साथी भनिएकी निजगढ अर्की किशोरी भने उनीहरु आएको केही समयपछि होटलमा पुगेकी थिइन ।घटनास्थलमा रहेकी सीताकी साथीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले महेशलाई आज बिहान चार बजे निजगढ नगरपालिका ७ माझी टोलस्थित उनको दिदीको घरबाट पक्राउ गरेको हो भने अर्का युवक यसअघि हिजो राति नै टाँगियावस्तिको जंगलबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर पनि राति नै कलैयाबाट निजगढ पुग्नुभएको थियो ।बाराका प्रहरी प्रवक्ता पण्डितले शल्यपरीक्षण रिपोर्टपछि मृत्युको कारण खुल्ने बताउनुभएको छ । मृतकको शव शल्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पता काठमाण्डौं पठाइएको निजगढ प्रहरीले जनाएको छ ।

Leave a Reply