सिमरा,सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको एक फोटो र विवादास्पद सामग्रीको विषयमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रहरीमा उजुरी दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी निकट राजकुमार यादवले नगरप्रमुख पौडेलको सामाजिक मर्यादामा आँच पुग्ने गरी सामाजिक सञ्जालमा हालेको फोटोको विषयलाई लिएर नेपाल प्रहरीको साइवर ब्यूरोमा उजुरी गर्नुभएको हो । यादवले मेयर पौडेलको चरित्र हत्या हुने गरी कुकुरसंग एउटै थालमा खाना खाइरहेको तस्बिर पोस्ट गरेका थिए ।नगरप्रमुख पौडेलले सो विषयमा नेपाल प्रहरीको साइबर ब्यूरो प्रमुख, मधेस प्रदेश प्रहरी प्रमुख, बारा जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालय सिमराका प्रमुखलाई समेत टेलिफोन र ह्वाट्सएपमार्फत जानकारी गराइसकेको बताउनुभएको छ ।

मेयर पौडेलले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, “साइबर ब्यूरोमा उजुरी गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरो प्रमुख, मधेस प्रहरी प्रमुख, बारा जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी सिमरा प्रमुखलाई समेत टेलिफोन र ह्वाट्सएपमार्फत जानकारी गराएको छु । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट एकबद्धता प्रकट गर्नुहुने सबैलाई धन्यवाद । कारबाही होस् । म चिन्दिनँ, तर चिनिएकासँग एउटै फ्रेममा भएकाहरूले मलाई चिनाइदिनुस् ।”

पौडेलले आफू उक्त व्यक्तिलाई नचिन्ने दाबी गर्दै फोटोमा देखिएका चिनिएका व्यक्तिहरूले वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्तिको चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाउनुभएको छ । साथै, तथ्यहीन र भ्रामक सामग्री फैलाउनेमाथि कानुनी कारबाही हुनुपर्ने माग पनि गर्नुभएको छ ।
घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् । धेरैले अभिव्यक्ति स्वतन्त्रताको नाममा चरित्रहत्या गर्न नहुने बताएका छन् भने केहीले पोस्टको सत्यताबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग पनि गरेका छन् ।

Leave a Reply