बारा जिल्ला हरेक हिसावले महत्वपूर्ण छ अनि जिल्लाको सदरमुकाम कलैयाबाट करिब २२ किलोमिटर दक्षिण–पूर्वको रहेको मध्य मधेसको सिम्रौनगढ बजार झनै महत्वपूर्ण छ ।इतिहास, कला, संस्कृति र सम्पदाले भरिएको स्थान हो, सिम्रौनगढ । नेपालको इतिहास अध्ययन गर्दा मध्यकालिन नेपालमा शक्तिशाली राज्यको रुपमा रहेको तिरहुतको राजधानीको रुपमा रहेको सिम्रौनगढ सन् १३२४ मा ग्यासुद्दिन तुग्लकको आक्रमणबाट ध्वस्त भएको थियो । युद्धमा पराजित राजा र भारदार उत्तर पहाडतिर पलायन भएका थिए ।सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव (कतिपय इतिहासकारले हरसिंह पनि भनिएको) सिन्धुलीको तिपाट (हालको तीनपाटन) भन्ने स्थानमा गई केही समय बसे । तीनपाटनमै राजाको मृत्यु भएपछि रानी देवलदेवी, छोरा जगतसिंहसहित भारदारहरू तामाकोसी किनार पछ्याउँदै जाने क्रममा तामाकोसी सेलेघाटमा माझी झारोले रोक्ने प्रयास गरेका थिए ।रानी देवलदेवीसहित भारदारहरू दोलखा, बनेपा हुँदै माइती भक्तपुरमा गएर शरण लिए भन्ने मत इतिहासकारहरूको छ ।विशेषगरी सिम्रौनगढको उत्खनन र अध्ययनका लागि राज्यले किन ढिला गरिरहेको छ ? यो आफैँमा एउटा गम्भीर प्रश्नसमेत बनेको छ । सिम्रौनगढको उत्खनन गरी भूगर्भमा लुप्त इतिहास, कला र सम्पदाको संरक्षण गर्न सके नेपालको पर्यटन अर्थतन्त्रलाई समेत सिम्रौनगढले समृद्ध बनाउनेमा कुनै शङ्का छैन । तैपनि सिम्रौनगढ दिन प्रतिदिन ओझेलमा पर्दैछ । डडेको चामल अझै पनि सिम्रौनगढको विभिन्न स्थानमा डिस्कोको रुपमा भेटिने गरेको छ । पछिल्लो पटक सडक निर्माण गर्ने क्रममा अर्को चामलको ढिस्को फला परेको छ ।यस्ता चीजहरुको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको हो । त्यसैले स्थानीय सरकारले तत्काल योजना बनाएर यसको संरक्षणमा लाग्नु पर्दछ ।















