वीरगञ्ज,पर्सा प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– १८ भवानीपुरस्थित प्लास्टिक कारखाना अगाडि बाटोमा एक सय ६० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो । सो क्रममा प्रहरीले दुई जनालाई नियन्त्रण पनि लिएको हो ।

पक्राउ परेका अभियुक्तहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका– ७ का ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका– ३ का २० वर्षीय रोनाल विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कृष्ण घलान पक्राउ परेका ट्रक ना.३ ख ४२१२ का चालक र मालिक हुन् ।विशेष टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ गइरहेको ट्रकलाई रोकेर जाँच गर्दा ट्रकको हुटमा फल्स बनाई रातो प्लास्टिकमा बेरी लुकाइएको अवस्थामा प्रति पोका १० केजीका दरले १६ पोकामा गाँजा भेटिएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै अभियुक्त र बरामद लागूऔषधसहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताउनुभयो ।
खुर्सानीको बोराभित्र लागुऔषध
वीरगञ्ज,सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज वीरगञ्ज भन्सार कार्यालय गेटअगाडि खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो ।पर्साको बहुदरमाई गाउँपालिका वडा नम्बर ३, नगरदाहाका ३६ वर्षीय मिश्री रामलाई भारतबाट पैदलै टाउकोमा हरियो खुर्सानीको बोरा बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ हवल्दार सुनिल पाण्डेको नेतृत्वमा खटिएको टोलीले तलासी गर्दा बोराभित्र प्रतिबन्धित लागुऔषध फेला परेको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिनुभयो । फेला परेका लागुऔषधमा डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नुर्फिन २९७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ४९७ एम्पुल रहेको धिमालले बताउनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक धिमालका अनुसार, सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निरन्तर सक्रिय छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी बल निरन्तर प्रतिबद्ध रहेको उहाँको भनाई छ ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।

Leave a Reply