कलैया,नेकपा एमाले प्रदेश नम्बर २ कार्यदल पदाधिकारीको सोमबार जनकपुरमा बसेको बैठकले एमाले बारा जिल्ला कमिटीको अध्यक्षमा देवनारायण चौधरीलाई चयन गरेको छ । कार्यदलले एमाले बारामा अध्यक्षसहित ४ जना पदाधिकारीको चयन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षमा बिनोद साह कलावर, सचिवमा महमद समिम र सहसचिवमा गोविन्द पौडेलको नाम टुंगो लगाएको छ ।
नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्ने क्रममा चौधरीलाई एमालेले बारा जिल्ला अध्यक्ष बनाएको हो । जिल्ला अध्यक्ष सुन्दर विक नेकपा एकीकृत समाजवादीमा लागेपछि कमिटीको उपाध्यक्ष रहनु भएका चौधरीलाई अध्यक्ष तोकिएको छ एमालेको ०७३ सालमा कोल्हबीमा भएको नवौं जिल्ला अधिवेशनबाट विकलाई अध्यक्ष र चौधरीलाई उपाध्यक्षमा चुनिनु भएको थियो । अधिवेशनमा निर्वाचित सचिव एम समिउल्लाहा भने नयाँ कमिटीमा पर्नु भएको छैन । उहाँको स्थानमा माओवादी परित्याग गरी एमाले प्रवेश गर्नुभएका समिमलाई तोकिएको छ । उपाध्यक्ष साह भने प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो भने जिल्ला कमिटी सदस्य गोविन्द पौडेललाई अहिले सहसचिव बनाइएको छ । एमालेभित्र विवाद बढदै गएपछि संस्थापन पक्षले पूर्वसंविधानसभा सदस्य बलवीर चौधरीलाई अध्यक्षमा मनोनयन गरेको थियो ।
नेकपा एमालेका नेता पुरुषोत्तम पौडेल लगायतका नेताहरुले १० बुँदे सहमति कार्यन्वयनको माग गर्दै आउनुभएको थियो । एमालेभित्र विवाद तीव्र बनेको बेला माधव नेपाल समूहमा खुलेर लाग्नु भएका नेता पौडेल १० बुँदे सहमतिपछि नेकपा एमालेमै बस्नु भएको छ । नेता पौडेलसंगै जिल्ला कमिटीका अधिकांश सदस्यहरु पनि एमालेमै छन । तत्कालिन अध्यक्ष विकबाहेक कमिटीका ८५ मध्ये ५० जना सदस्यहरु एमालेमै रहेको बताइएको छ ।
जिल्ला किमिटिको ४ जना पदाधिकारी छनौट भैसकेको अवस्थामा छिटै बैठक बसी बाँकी सदस्यहरुको नाम टुंगो लगाउने अध्यक्ष देवनारायण चौधरीले जानकारी दिनुभयो । चौधरीले तत्कालिन नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु तथा बिभिन्न पार्टी परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरु सहितको बैठक बोलाएर छलफल गर्ने तैयारी भइरहेको जानकारी दिनुभयो ।
नेकपा एमाले प्रदेश नं. २ की अध्यक्ष तथा पूर्वमन्त्री ज्वाला साहको अध्यक्षतामा बसेको कार्यदलको बैठकले सो निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।



















