सिमरा,मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।बेलिब्रिज खस्दा जीतपुरसिमरा १२ का २२ वर्षीय रुपलाल चौधरी, २२ वर्षीय राकेश चौधरी, २७ वर्षीय राजन चौधरीको मृत्यु भएको हो । उनीहरुले उपचारका क्रममा ज्यान गुमाएका थिए ।

यसैगरी घटनामा फत्तेपुरकै २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।मृतक र घाइते सबै निर्माणाधीन बेलिब्रिजमा मजदुरको रुपमा कार्यरत थिए । २०८० असार २ गतेको बाढीले उक्त ठाँउमा रहेको पक्की पुल बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । उक्त बेलिब्रिज समेत २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक बेलिब्रिज निर्माण गर्ने काम भईरहेको थियो ।
घटनापछि बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाह, नेपाली कांग्रेसका नगर सभापति छवि शर्माले दुःख व्यक्त गरेका छन् । यता सांसद श्रेष्ठले प्रतिनिधिसभा बैठकमा बोल्दै मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गराउन सरकारसंग माग गरेका छन् ।
छानबिन गर्न समिति गठन
काठमाण्डौ – सरकारले हेवाखोलामा निर्माणाधीन पुल भाँचिएको घटना छानबिन गर्न समिति बनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णयमार्फत सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गर्नुभएको हो ।समितिमा सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) अमितकुमार वर्मा सदस्य रहनुभएको छ ।

समितिलाई पुल भत्कनुका कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझाव तथा त्यो ठाउँमा तत्काल अस्थायी रूपमा गाडी सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको छ ।मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवाखोलामा निर्माणाधीन पुल हिजो बेलुका भाँचिदा तीन जनाको ज्यान गएको छ । पुल भाँचिदा अरू तीन जना घाइते भएका छन् ।

Leave a Reply