कृष्ण मोहन साह

सेढवा – पर्साको ठोरी गाउँपालिका वडा नम्बर -४ विजयवस्तीसंग सिमाना जोडिएको नेपाल भारतको दसगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न लागेको भारतीय पक्ष स्थानीयको विरोधका कारण पछि हटेको छ । मंगलबार ठोरी -४ का वडाध्यक्ष बई बहादुर पाख्रीन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित सयौंको संख्यामा भेला भएका स्थानीय र भारतीय सिमा सुरक्षा बल र वन विभागका रेन्जर सहितको भारतीय पक्षबीच भएको छ्लफलमा भारतीय पक्ष दसगजा छोडेर भौतिक संरचना बनाउन सहमत भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्ण पुरका सशस्त्र प्रहरी निरीक्षक सागर मल्लले जानकारी दिनुभयो ।

 

 

 

सोमबार विजयवस्तीका स्थानीयले भारतले भौतिक संरचना निर्माणका लागी संकलन गरेको गिट्टी, बालुवा लगायतका निर्माण सामग्री हटाउन दबाब दिएका थिए । नेपाली पक्षको दबाब पछि काम रोकेर फर्किएको भारतीय पक्ष मंगलबार पुनः सोही ठाउँमा आएपछि स्थानीय पुगेर दसगजामा संरचना निर्माण गर्न नपाउने भन्दै बिरोध गरे । भारतीय पक्षले सुरुमा अहिले बनिरहेको ठाउँमा नै भौतिक संरचना बनाउने र सो ठाँउ दसगजा क्षेत्रमा नपर्ने दाबी गरेको भएपनि नेपाली पक्षको एकोहोरो अडान पछि भारतीय पक्ष पछि हटेको छलफलमा सहभागी स्थानीय अगुवा सन्तोष श्रेष्ठले जानकारी दिए।

 

 

 

 

भारतीय पक्ष आफ्नो अडानबाट पछि नहट्दा केहि बेर दुबै पक्षबीच भनाभन समेत भएको छलफल सहभागीहरुले बताएका छन् । नेपाली पक्षले सिमानामा डोरी लगाएर दसगजा नाप्न लगाएपछि मात्र भारतीय पक्षले गल्ती स्वीकार्दै दसगजा छोडेर संरचना निर्माण गर्न तयार भएको सहभागीहरुले बताएका छन् ।

Leave a Reply