नरेश गुप्ता

बरियारपुर,सुरक्षाकर्मीको संयुक्त टोलीले शुक्रबार बारा र पर्सामा बाढीजन्य विपद प्रतिकार्य अभ्यास तथा प्रदर्शनी आयोजना गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित झरोखोर (देवताल) पोखरीमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले विपद प्रतिकार्य अभ्यास तथा प्रदर्शनी गरेको हो ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षाकर्मीको टोलीले बाढीजन्य प्रकोपमा परेकाहरुको उद्धारमा अपनाउनु पर्ने कौशलताको बारेमा मोटर र रबरबोटमार्फत अभ्याससहित प्रर्दशन गरेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । बर्षा सुरुभएसंगै बाढीको प्रकोप बढन सक्ने शंभावनालाई ध्यानमा राखेर प्रकोप न्युनीकरणको लागि सुरक्षाकर्मीव्दारा प्रतिकार्य अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल, निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल र सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादवले प्रकोप व्यवस्थापन बारे बोल्नुभएको थियो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले आयोजना गरेको १ हप्ते विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण पनि शुक्रबार सम्पन्न भएको छ ।

तराईमा वर्षायामको समयमा हुने बाढी र डुबानलाई मध्यनजर गर्दै विपद्बाट बच्न गर्नुपर्ने उद्धारको बारेमा प्रशिक्षण दिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको सभापतित्वमा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्द वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगन्जमा हुने डुबानबाट जोगिन प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

बर्षामा डुबानमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने विषयमा विपद व्यवस्थापन गुल्मलाई प्रशिक्षण दिए जस्तै अब आम नागरिकलाई पनि सिपमुलक प्रशिक्षण दिनुपर्नेमा नगरप्रमुख सरावगीले जोड दिनुभयो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विपद् बाजा बजाएर नआउने हुँदा पूर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालय पनि तयार रहेको बताउनुभयो । विगतका वर्षहरुमा हुदै आएको धनजनको क्षतिलाई न्युनीकरण गर्नेतर्फ स्थानीय प्रशासन पनि सचेत रहेको घिमिरेको भनाइ छ । प्रशिक्षणको क्रममा गण परिसरमा रहेको पोखरीमा व्यावहारिक रुपमा अभ्यास गरेर देखाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here