निजगढ,बाराको सामुदायिक वन क्षेत्रको अतिक्रमण खाली गराइने भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको बारा जिल्लास्तरीय भेलामा समूहमा हस्तान्तरण भएपछि अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउने सहमति भएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा आज निजगढमा वन समूहका पदाधिकारीहरुको जिल्ला स्तरीय भेला आयोजना गरिएको थियो ।
समूहमा हस्तान्तरण भएपछि अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउने बारेमा भेलामा सहमति भएको डिभिजन वन कार्यालय बारा सिमराका रेञ्जर निरज पोखरेलले जानकारी दिनुभयो । ‘समूहमा हस्तान्तरण भएपछि सुकुम्बासी वा अन्य कुनै नाममा समूहको वन क्षेत्र अतिक्रमण भएको भए तत्काल खाली गराउने सहमति भएको छ ।’ उहाँले भन्नुभयो ।
भेलाले वन अतिक्रमण लगायत समूहले चालु आर्थिक वर्षमा संचालन गर्ने ‘सम्बृद्धिको लागि वन’ लगायत विभिन्न कार्यक्रमको प्रगतिको अवस्थाबारे जानकारी आदान प्रदान गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईको अध्यक्षतामा भएको सो भेलामा वनमा हुने आगलागी, चोरी तस्करी, चोरी सिकारी नियन्त्रण, समूहको कार्ययोजना शंसोधनमा उत्पन्न जटिलता र सालको बिउ संकलन तथा बिक्री गर्नेबारेमा पनि छलफल भएको रेञ्जर पोखरेलले जानकारी दिनुभयो ।कार्यक्रममा हिमालयन आमा एग्रो प्रालिका अमृत घलेले वनबाट उत्पादन हुने सालको बिउ खरिद गर्न आफ्नो कम्पनी तयार रहेको बताउदै संकलन कार्य संचालन गर्न समूहले आवश्यक कानुनी व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । घलेका अनुसार बाराको वन क्षेत्रबाट वार्षिक सयौंं टन सालको बिउ उत्पादन हुने र सोको बिक्रीबाट समूहले राम्रो आम्दानी लिनसक्ने छन ।
निजगढ नगरपालिका कार्यालयको सभा हलमा भएको सो भेलामा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, डिभिजन वन कार्यालयका प्रमुख सुजित कर्ण, वन महासंघ बाराका अध्यक्ष बजगाईले वन संरक्षणमा समूहले निर्वाहा गर्नुपर्ने भूमिकाको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकामा क्रियाशील वन समूहका अध्यक्षलगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
















