निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको नयाँ कार्यसमिति चयनको लागि आगामी बैशाख २७ गते मतदान हुने भएको छ ।समूहको नयाँ कार्यसमिति चयन गर्न गठन गरिएको निर्वाचन मण्डलको सोमवार बसेको बैठकले कार्यसमिति चयनको लागि बैशाख २७ गते मतदान गर्ने निर्णय गरेको हो ।
निर्वाचन मण्डलका संयोजक सब डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेलका अनुसार निर्वाचन प्रयोजनको लागि बुधवार बैशाख १० गते समूहको मतदाता नामावली प्रकाशन, बैशाख ११ गते मतदाता नामावलीमाथि दाबी बिरोध र १२ गते दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावलीको प्रकाशन गरिने छ । त्यसैगरी बैशाख १३ गते उम्मेदवारहरुको नामावली प्रकाशन, १४ गते उम्मेदवारीमाथि दाबी विरोध, १५ गते दाबी विरोधीमाथि छानबिन र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै आगामी १६ गते उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने, १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका छ ।निर्वाचन मण्डलले १८ गतेदेखि २५ गते रातीको १२ बजेसम्म उम्मेदवारहरुलाई आफ्नो चुनाव प्रचार गर्न पाउने र २६ गतेबाट मौन अवधि शुरु हुने र २७ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने रेञ्जर पोखरेलले बताउनुभयो । निर्वाचन मण्डलको निर्र्वााचन तालिकामा सोही दिन मतगणना गरी २८ गते परिणाम घोषणा र विजयी पदाधिकारीहरुको शपथ ग्रहण र प्रमाणपत्र वितरण गरिने छ ।
















