वीरगञ्ज,वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मुख्य सडकको दायाँ–बायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान पूरा भएको छ । आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको अभियान सोमबारसम्ममा सकिएको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ ।कार्यालयका अनुसार त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि नेपाल–भारत मितेरी पुलसम्मको सडक खण्डमा रहेका करिब १ हजार २ सय घर, टहरा लगायतका संरचनामा दुई दिनभित्रै डोजर चलाएर हटाइएको हो । अतिक्रमण हटाएपछि सडक विस्तारको काम अघि बढाउने तयारी गरिएको जनाइएको छ ।
सडक डिभिजन कार्यालयकी इन्जिनियर दिलासा तिवारीका अनुसार भत्काइएका संरचनाबाट निस्किएको फोहोर व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ ।
तिवारीका अनुसार अब सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न विभागअन्तर्गतको उत्तर–दक्षिण आयोजना निर्देशनालयलाई आग्रह गरिएको छ । बजेट अभावका कारण हाल डिपिआर तयारी प्रक्रियामा रहेको र सो प्रतिवेदन तयार भएपछि मात्र केन्द्र सरकारबाट बजेट प्राप्त हुने उहाँले जानकारी दिनुभयो ।
उहाँले आगामी आर्थिक वर्षदेखि मात्र निर्माण कार्य सुरु हुने स्पष्ट पार्दै डिपिआर तयार हुन करिब ३ देखि ४ महिना लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ । केन्द्रबाट बजेट प्राप्त भएपछि गण्डक चोकदेखि मितेरी पुलसम्म ६ लेनको सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइनेछ । निर्माण सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने अनुमान छ ।
यसैबीच, सडक क्षेत्रभित्र भत्काउन बाँकी रहेका संरचना स्वयं हटाउन घरधनीहरूलाई आग्रह गरिएको छ । “आफैले हटाउन केही समय दिएका छौँ, अन्यथा पुनः डोजर प्रयोग गरी साइट क्लियर गरिने छ,” तिवारीले भन्नुभयो । साथै, २५÷२५ मिटरको दायराभित्र नपरेका तर भत्काइएका संरचनाका घरधनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत सम्पर्क गर्न सक्ने जानकारी पनि दिइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले शनिवार सूचना जारी गर्दै मितेरी पुलदेखि गण्डक नहर चोकसम्मका संरचना १२ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २४ घण्टाभित्रै अधिकांश संरचना हटाइएको जनाइएको छ ।अभियानपछि वीरगञ्जको मुख्य बजार क्षेत्र प्रभावित बनेको छ । भत्काइएका संरचनाको भग्नाभषेश हटाउन बाँकी रहेकाले बजार क्षेत्र अस्तव्यस्त र खण्डहरजस्तो देखिएको स्थानीयवासीको गुनासो छ ।
पथलैया–चुरियामाई सडकखण्डमा पनि डोजर चल्ने
सिमरा,वीरगञ्जमा सडक विस्तार गरेसँगै हटौंडास्थित सडक डिभिजन कार्यालयले त्रिभुवन राजपथ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने पथलैया–चुरियामाई सडकखण्डमा पनि सडक फराकिलो पार्ने तयारी गरेको छ ।
सडक विस्तर कार्यका लागि सडक डिभिजन कार्यालयले राजमार्ग अन्तर्गत पथलैयादेखि चुरियामाईसम्मको सडकखण्डको दायाँबायाँ २५ मिटर क्षेत्र खाली गर्न सूचना जारी गरेको छ । कार्यालयले २५ मिटर दायाँबायाँको क्षेत्र खाली गराएर सडक विस्तार गर्ने तयारी गरेको हो ।कार्यालयले यसअघि पटक–पटक सूचना जारी गरिए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै बैशाख १० गतेभित्र खाली गर्न अर्को सूचना जारी गरेको हो । उक्त समयसीमा भित्र सडक क्षेत्र खाली नभए वीरगञ्जमा जस्तै डोजर चलाउने संकेत सडक डिभिजन कार्यालयले गरेको छ ।
सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा अनधिकृत संरचनाहरू नहटाइएमा सार्वजनिक सडक ऐन २०३१ र प्रचलित नेपाल कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
सडक डिभिजनको सूचनासँगै अब अमलेखगञ्ज र तीन नम्बर पुल क्षेत्रमा स्थानीयले अतिक्रमण गरी बनाएका घर टहरा हटेन भएका छन । सो सडकको ३ नम्बर पुल नजिक स्थानीयले सडक अतिक्रमण गरेर ४ दर्जनभन्दा बढी होटल र पसल संचालन गर्दैआएका छ । उक्त सडक खाली भएपछि पथलैया–हेटौंडा सडकखण्डमा सडक विस्तारको काम अघि बढ्नेछ ।
















