निजगढ,बाख्रा चराउन गएको बेला जंगलमा हराएकी एक महिलाको निजगढ प्रहरी र स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको छ ।वैशाख ७ गते सोमबार गाउँ नजिकैको जंगलमा बाख्रा चराउन गएको बेला साँझ ५ बजेबाट हराउनुभएकी निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालका मानबहादुर स्याङतानकी श्रीमती अन्दाजी ५० वर्षीया फूलमाया स्याङतानलाई प्रहरीको सहयोगमा स्थानीयले आज बिहान सकुशल फेला परेका हुन ।

खाजा खाएर आउँछु भनेर सँगै रहेका साथीबाट छुट्टिनुभएकी फूलमाया साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी शुरु गरेका थिए । स्थानीयले प्रहरी चौकी रतनपुरमा जानकारी गराएपछि सोही रात ९ बजेबाट जङ्गलमा उहाँको खोजी शुरु भएको थियो ।

तर राति १२ बजेसम्म पनि फेला नपरेपछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा सशस्त्र प्रहरीसमेतको टोलीले स्थानीयसंग मिलेर भोलिपल्ट पनि फूलमायाको खोजी कार्य गरेको थियो । सोही क्रममा महिलाले बोकेको मोबाइल फोनको अन्तिम लोकेसन राति ११ः३६ बजेसम्म निजगढ वडा नम्बर ११ रतनपुरी क्षेत्रमा देखिएको र त्यसपछि मोबाइल स्विच अफ भएको पाइएको थियो ।मोबाइल लोकेसनको टेक्निकल विश्लेषण र आसपासका सामुदायिक वन क्षेत्रमा खोजी गर्दै जाँदा प्रहरीले महिलालाई निजगढ नगरपालिका वडा नम्बर ११ पश्चिमटोलस्थित प्रतीक्षालय नजिकैको जङ्गलमा फेला पारेको हो ।उद्धारपछि प्रहरीले फूलमायालाई घरसम्म पु¥याएर २७ वर्षीया छोरी सुष्मा स्याङतानको जिम्मा लगाएको जनाएको छ ।

Leave a Reply