कलैया,नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याएको छ । तर घटना भएको २० घन्टा भइसक्दा न बस भेटिएको छ, न त्यसमा सवार कम्तीमा ४८ यात्रुको उद्दार हुन सकेको छ ।भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले गयो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुल्यो ।
बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।
बसमा रहेका तीन जना नदीमा पौडिएर बाच्न सफल भए । उनीहरूले दिएको सूचनाका आधारमा बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लगेन । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार साँझ करिब ६ बजे उद्दार कार्य स्थगित भयो ।उद्धार टोलीले अब भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ । ‘नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा जोखिम पनि हुने भयो’, डीआईजी न्यौपानेले भने, ‘घटनास्थलबाट ३–४ किलोमिटर वरपरसम्म खोज्दा पनि भेटिएन । त्यहाँ खटिएका सबै उद्धार टोली फर्किइसकेका छन् ।’
निरन्तरको वर्षा र ठाउँठाउँमा खसेको पहिरोले बेपत्ता बस र यात्रु खोज्न हिँडेका गोताखोरसहितको सुरक्षाकर्मीलाई पनि घटनास्थल पुग्नै हम्मेहम्मे परेको थियो ।न्यौपानेका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो । हराएको बस खोज्न रड, चुम्बक पनि प्रयोग गरिएको थियो । तर साँझसम्म बसको पर्दा जस्तो देखिने कपडा बाहेक केही भेटिएको छैन ।नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना भएर त्रिशूलीमा बस खसेको यो पहिलो पटक होइन, यसअघि पनि पटकपटक त्रिशूली किनारमै धैरे दुर्घटना भइरहन्छन् । सशस्त्रका १२ जना गोताखोरसहित ७० जना, नेपाली सेनामा ५ जनासहित ७४ वटा नेपाली सेना, नेपाल प्रहरीलगायतको ठूलो टोली बिहानैबाट त्रिशूलीमा बेपत्ता बस खोजी कार्यमा लागे पनि फेला पर्न सकेन ।
०७२ असोज ९ गते मा पनि तत्कालीन खिलराज रेग्मी सरकारको पालामा गृह मन्त्रालय सम्हालेका पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे सवार कार पनि सोही सडकखण्डकै घोप्टेभीरमा दुर्घटना भएको थियो । उनी सवार कार त्रिशूलीमा खस्दा ३ जनाको मृत्यु भएको थियो । उनको अवस्था हालसम्म अज्ञात छ ।सुरक्षा निकायका उद्धार टोलीका सदस्यहरू भने विपद् उद्धारमा स्रोत र साधनको कमी नभएको दाबी गर्छन् । उद्धारमा संलग्न सदस्यका अनुसार दुर्घटना भएकै ठाउँमा बढी गहिरो र तेज बहाव भएकाले पनि समस्या भएको हो ।
शसस्त्र प्रहरीका प्रवक्ता न्यौपानेका अनुसार शुक्रबार चितवन त्रिशूलीमा भएको घटना उद्धार ढिलाइ हुनुको प्रमुख कारण नै वर्षात् र नदीको उच्च बहाव हो ।आफूहरूसँग उद्धारका लागि आफूहरूसँग पर्याप्त स्रोत र साधन भए पनि निरन्तर वर्षा र नदीको बहाव नघट्दा समस्या भएको हो । ‘हामीसँग तालिमप्राप्त गोताखोर, मोटरबोटदेखि सबै पर्याप्त स्रोत र साधन छन् । सबैको उच्चतम् प्रयोग गरेरै खोजिएको हो’, न्यौपाने भन्छन्, ‘आजचाहिँ पानी धमिलो र निरन्तर वर्षाले गर्दा केही अवरोध भएको हो । अरु समस्या होइन ।’विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिन्टारका एसपी जनक पुरी पनि यसअघि पनि उच्च बहाव र धमिलो पानी भएका ठाउँमा आफूहरूले सफलता हासिल गर्दै आएको बताउँछन् । ‘योभन्दा ठूला र गहिरा नदीमा पनि हामीसँग भएका इक्वेप्मेन्टले सफलता पाएका हौं’, उनले भने, ‘तर, आज बहाव धेरै थियो । गोताखोरले प्रयोग भएका डोरी पनि धमिलो पानीमा कतिबेला ढुंगाले काट्छ भन्ने रिस्क पनि हुन्छ । त्यही भएर रोकिनुपर्यो ।’एसपीका पुरीका अनुसार नेपाली गोताखोरले प्रयोग गर्ने डोरीले १० टनसम्मको बहाव धान्ने क्षमता राख्दछन् । भन्छन््, ‘विश्वव्यापी रुपमा प्रयोग हुने मोप त्यही हो । त्यसबाहेक हामीसँग इक्वेप्मेन्ट भएन, जनशक्ति भएन भन्नेचाहिँ होइन ।’


















