रौतहट,
रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दोहोरो चरित्र देखाएकोभन्दै स्थानीय व्यवसायीहरुले आलोचना गरेका छन ।
गत बिहीवार सम्पन्न चन्द्रपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा अत्याधिक मतले विजयी भएका उदयनारायण सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावले आफूले जितेकोभन्दै प्रचार गरेपछि उहाँको आलोचना शुरु भएको हो । रास्वपा चन्द्रपुर नगर सभापति समेत रहनुभएका सापकोटा प्रतिस्पर्धी सुनिल साहलाई फराकिलो मतान्तरमा हराउँदै संघको अध्यक्षमा विजयी हुनुभएको थियो ।
चुनावअघि सापकोटाले आफू कुनै पार्टीको नभई सिंगो व्यापारीको उम्मेदवार भएको बताउँदै भोट मागेको तर, चुनावपछि चारदलीय गठबन्धनलाई हराएर राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको भन्दै मिडिया ट्रायल सुरु गर्नुभएको छ ।
सबै पार्टीमा आस्था राख्ने व्यवसायीहरूले पार्टीभन्दा माथि उठेर मत दिएर जिताएका सापकोटाले आफ्नो जितलाई व्यवसायीहरूको जितको रूपमाभन्दा पनि रास्वपाको जितको रूपमा प्रचार गरेपछि व्यवसायहरुले पनि उहाँको आलोचना गर्न थालेका छन् । हालै एक सार्वजनिक प्रतिक्रियामा सापकोटाले भन्नुभएको छ, ‘मैले राम्रो काम गरेकाले साथीहरूले विजयी गराउनुभयो । पाँच दल एक ठाउँमा उभिँदा पनि जित्न सफल भएँ । आफ्नो जितमा पार्टी (रास्वपा) को प्रभावको कारण पनि भएको उहाँले दाबी गर्नुभएको छ ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ४ को अध्यक्षको टिकट नपाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका सापकोटाले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नेताका रूपमा स्थापित गराउन र बाणिज्य संघमा भएको जितलाई पार्टीको जितको रुपमा प्रचार गरेको विपक्षीको आरोप छ ।



















