सिम्रौनगढ,गत आइतवार राति अकस्मात परेको असिना पानी र हावाहुरीले सिम्रौनगढ नगरपालिकामा क्षेति पुगेको मकै, तरकारी तथा फलफुल बालीको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वको टोलीले बुधवार अनुगमन गरेको छ ।प्रजिअ अधिकारीको नेतृत्वमा रहेको टोलीले असिना पानी र हावाहुरीबाट सिम्रौनगढ क्षेत्रका किसानको बालीमा पुगेको क्षेतिको अनुगमन गर्नुको साथै पीडित किसानहरुसंग छलफल गरेको हो । स्थानीय विपद व्यवस्थापन समितिले किसानहरुको बालीमा के–कतिको क्षति भएको सोको मुल्यांकन पनि गरेको छ ।
सो अवसरमा प्रजिअ अधिकारीले किसानलाई पुगेको क्षतिको क्षतिपूर्तिको लागि कृषि मन्त्रालयमा सिफारिश गर्ने र कृषि ज्ञान केन्द्र बारामार्फत पीडित किसानहरुलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताउनुभएको थियो ।अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ, स्थानीय जनप्रतिनिधि, किसानहरु लगायतको सहभागिता रहेको थियो ।सिम्रौनगढ नगरपालिका वडा नम्बर १ र ७ टोलमा गत आइतबार राती परेको असिना पानीले भित्राउने बेला भएको मकै बाली, तरकारी तथा फलफुलमा लाखौं मूल्य बराबर क्षति पु¥याएको थियो ।


















