काठमाडौँ — अभिनेता अनमोल केसी फिल्म ‘जेरी’को नयाँ श्रृंखलामा देखिने भएका छन्। निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माण टिमबीच फिल्मका लागि लिखित सम्झौता भएको हो।
फिल्मको शीर्षक ‘जेरी : द लास्ट क्लाइम्ब’ तय गरिएको छ। यसमा अनमोल केसीबाहेक अन्य कलाकार भने हालसम्म निश्चित भएका छैनन्। अघिल्लो श्रृंखलाका कलाकार आँचल शर्मा र जसिता गुरुङ दोहोरिने वा नदोहोरिने विषयमा पनि स्पष्ट भइसकेको छैन।
फिल्मको निर्देशन सुयोग गुरुङले गर्नेछन् भने पटकथा ब्रजेश खनालले लेखिरहेका छन्। ब्रजेशले सामाजिक सञ्जालमार्फत ‘काकु र भतिजा’बीच फेरि सहकार्य हुन लागेको संकेत दिएका छन्।
उनले लेखेका छन्, “काकु र भतिजाको फेरि एउटा नयाँ सिनेमाका लागि सहकार्य हुँदैछ। विस्तृत जानकारी निर्माण पक्षले समयमै सार्वजनिक गर्नेछ। नयाँ वर्षमा सुरु भएको यस परियोजनाले सफलताको नयाँ मानक स्थापित गर्ने विश्वास छ।”
निर्माण टिमका अनुसार फिल्मको पटकथा आगामी दुई–तीन महिनाभित्र पूरा हुनेछ।
हाल अनमोल केसी ‘बाटुलो जुन’को छायांकनमा व्यस्त छन्, जसको सुटिङ वैशाख २२ गतेसम्म सकिने जनाइएको छ। त्यसपछि उनी सम्भवतः ‘ए मेरो हजुर’को नयाँ श्रृंखलामा व्यस्त हुनेछन्। त्यसपछि मात्र ‘जेरी’को नयाँ श्रृंखलाको काम अघि बढ्ने बुझिएको छ।
‘जेरी अन टप’ अनमोल केसीको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म हो।



















