रौतहट,रौतहटका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हिरालाल रेग्मीको सक्रियतामा फतुवा विजयपुर नगरपालिकाको विवाद मिलेको छ । विवाद मिलेसँगै प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानले काम सुरु गर्ने हुनुभएको छ ।
पूर्वप्रशासकीय अधिकृतमा वकिल पाललाई राख्ने कार्यवाहक मेयर अम्बेया खातुनको अडान र अन्य जनप्रतिनिधिले प्रधानलाई राख्ने अडान लिएपछि नगरपालिकामा विवाद उत्पन्न भएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक साताअघि उपसचिव प्रधानलाई नगरपालिकामा सरुवा गरेको थियो । मन्त्रालयको निर्णय अनुसार उपसचिव प्रधान पाँच दिनअघि कार्यालयमा हाजिर समेत हुनुभएको थियो । उहाँलाई मेयर बाहेकका जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरूले स्वागत समेत गरेका थिए ।विवाद समाधानसँगै यसअघिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका वकिल पाल मन्त्रालयको निर्देशन अनुसार आफ्नो दरबन्दीमा जाने हुनुभएको छ ।

यसका साथै उपसचिव सुरेन्द्र प्रधानलाई दोहरो जिम्मेवारी थपिएको छ । यसअघि उहाँ जिल्लाकै कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ । फतुवाविजयपुर नगरपालिकामा निर्वाचित मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर विशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो ।
लगत्तै उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी पाएदेखि नै उनी र अन्य जनप्रतिनिधि बिच बजेट भागबन्डाको विषय लिएर पटक पटक विवाद हुँदै आएको छ ।

Leave a Reply