कोल्हबी,सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बारा जिल्लाको कोल्हबी र सिमरामा बिहीवार छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ ।

 

कोल्हबी उद्योग बाणिज्य संघको आयोजनामा कोल्हबीको शुभबिहानी कटेजमा बिहिबार दिउँसो भएको अन्तरक्रिया कार्यक्रममा आयोजना गरिएको हो । उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेशकुमार साहको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अथितिथिको रुपमा कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी र विशिष्ट अथितिमा युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोतम पौडेल रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले कोल्हबीको भूभागमा बन्ने परियोजनामा कोल्हबी नगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । त्यसैगरी पूर्वमन्त्री पौडेलले जसरी पनि विमानस्थल बारामा नै बनाउनु पर्ने कुराको जिकिर गर्नुभएको थियो ।

विमानस्थल निर्माण सरोकार समितिका संयोजक ढुण्डिराज उप्रेतीले आयोजना संचालन गराउनका लागि साँझा धारणा बनाएर जानुपर्ने धारणा राख्नुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको अथितिहरुमा सपही कलेज सभाका अध्यक्ष केवल चौधरी, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य विभा कार्की, बारा जिल्ला भूमि व्यवस्था आयोगका अध्यक्ष छविलाल उप्रेती, तामागढी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र पनुहर, माओवादी केन्द्रका नेता तपेश्वर चौधरी, नेकपा एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, माओवादी कोल्हवी नगर कमिटी अध्यक्ष रामचन्द्र साफी, एकीकृत समाजवादी कोल्हबी नगर कमिटीका अध्यक्ष तेजप्रताप चौधरी, एमाले बारा जिल्ला सदस्य महेन्द्र जैसवाल, काँग्रेसकी नेतृ सुभद्रा धिमाललगायत सयौ सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष रामु प्रसाईले स्वागत मन्तव्य राख्नुभएको थियो । छलफल कार्यक्रममा अदालतको फैसला विरुद्ध शुक्रबार बेलुका कोल्हबी बजारमा राँके जुलुसको आयोजना गर्ने निर्णय गरिएको स्थानीय समाजसेवी शम्भु साहले जानकारी दिनुभयो ।

त्यसैगरी सिमरामा पनि सर्वोच्चको फैसला विरुद्ध आन्दोलनको तयारी गर्न अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

उता, विमानस्थल नबनाउन भनेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित शहिद चोकमा निजगढ सरोकार समिति र स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार समितिको बिहीवार पनि सयुक्त रुपमा चक्काजाम र धर्ना दिएका छन । चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका थिए ।

धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको राप्रपा निजगढका अध्यक्ष खड्कप्रसाद उप्रेतीले बताउनुभयो । यस्तै निजगढ नगरपालिकाकी निवर्तमान उपप्रमुख लिलादेबी लामिछानेले अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । यस्तै निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले राष्ट्रिय महत्वको योजना विफल पार्ने षडयन्त्र भएकोले विरोधमा दवावमूलक आन्दोलन गर्नुपरेको बताउनुभएको छ ।

Leave a Reply