सिमरा,डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ राजीवकुमार झाको एक कार्यक्रमबीच हिजो कार्यालयबाट बिदाइ गरिएको छ ।डिएफओ झा सहसचिव पदमा बढुवा भएसँगै उहाँलाई कार्यालयबाट बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै सहसचिव झाले आफूले डिभिजन वन कार्यालय बाराको प्रमुखको रुपमा रहँदा वन क्षेत्रको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र विकासमा ऐन कानूनको परिधिमा रहेर इमान्दारिताका साथ काम गर्दैआएको बताउनुभयो ।उहाँले सामुदायिक वन महासङ्घ बारा, साझेदारी वन व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समूह, राजनीतिककर्मी, नागरिक समाज र सञ्चारकर्मीहरूसँगको सहकार्यमा वन क्षेत्रको विकासमा काम गरेको सुनाउनुभयो । बिदाइ कार्यक्रममा नेपाल वन प्राविधिक सङ्घ, मधेस प्रदेशका अध्यक्ष बिन्देश्वर पटेल, बारा–पर्सा वन प्राविधिक सङ्घका अध्यक्ष जवाहरलालप्रसाद कुर्मी, फेकोफन बाराका अध्यक्ष रामजी बजगाई, वन अधिकृत राजेश साह, पत्रकार जीतलाल श्रेष्ठलगायतले बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
वन अधिकृत एवं निमित्त डिभिजन प्रमुख वीरेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा डिभिजनका रेन्जर नीरज पोखरेलले स्वागत मन्तव्य र सञ्चालन वन अधिकृत ललन राउतले गर्नुभएको थियो ।कार्यक्रममा वन अधिकृत मधुकान्त सिंह, वर्षा लामा, शर्मिला नेपाल, विनोद पटेललगायत वन कर्मचारी, साझेदारी वन समिति तथा सामुदायिक वन समूहका पदाधिकारीहरूको सहभागिता थियो ।
















