कलैया,बारामा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बारा शाखाले कडा आपत्ति जनाएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीमाथि भएको अभद्र व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेको छ ।महासंघका अनुसार मिलन राष्ट्रिय दैनिकका सञ्चालकसमेत रहेका पत्रकार नरेश गुप्तामाथि फेटा गाउँपालिका सम्बन्धी विषयमा समाचार संकलनका क्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले फोनमार्फत अभद्र भाषा प्रयोग गरेका थिए । उक्त घटनाले पत्रकारिता क्षेत्र नै स्तब्ध बनेको महासंघले जनाएको छ ।
“सत्य–तथ्य उजागर गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि यस्तो व्यवहार हुनु निन्दनीय मात्र होइन, असह्य छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो स्तरहीन व्यवहार हुनु झन् गम्भीर विषय भएको औंल्याउँदै दोषीमाथि तत्काल कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, यस्ता हर्कत दोहोरिए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।“पत्रकारलाई डर, धम्की र दुव्र्यवहार गरेर सत्यलाई दबाउन खोज्ने प्रयास कदापि स्वीकार्य छैन,” महासंघले स्पष्ट पारेको छ । स्वतन्त्र र निष्पक्ष पत्रकारितामाथि कुनै पनि प्रकारको हस्तक्षेप सहन नसकिने भन्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरिएको छ ।

 

Leave a Reply