कलैया,राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउँ महाअभियानले बाराको कलैयास्थित एभरेष्ट बैंक शाखा कार्यालय अगाडि नाराबाजी र प्रदर्शन गर्नुको साथै तोडफोडसमेत गरेको छ ।उक्त बैंकबाट ऋण लिएका बाराको हर्दिया निवासी खुशीराम चौधरीले बैंकले गरेको पटकपटकको ताकेता सहन नसकेर आत्महत्या गर्नुपरेको भन्दै अभियान समर्थकहरुले बैंक अगाडि सोमवार नाराबाजी र प्रदर्शनसहित तोडफोड गरेका हुन । तोडफोडबाट बैंकको अगाडि पट्टीको शिशा फुटेको छ ।
मृतक ऋणीलाई उचित न्यायसहित क्षतिपूर्तिको माग गर्दै प्रदर्शनमा सहभागी महिला एवंम ऋणीहरुले बैंकमा ढुंगासमेत प्रहार गरेका थिए । अभियानका जिल्ला अध्यक्ष धिरजप्रसाद केशरीले मृतक ऋणीलाई उचित न्यायसहित क्षतिपूर्ति उपलब्ध नगराए देशभरका एभेरेष्ट बैंकको शाखा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिनुभयो । केशरीकै नेतृत्वमा गएका प्रदर्शनकारीले शाखा प्रमुखको पुतला जलाउन खोज्दा प्रहरीसंग झडपसमेत भएको थियो ।
प्रहरी हस्तक्षेपका कारण शाखा प्रमुखको पुतला जलाउन नसकेपछि प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।अध्यक्ष केशरी नेतृत्वको प्रदर्शनकारीले गरेको तोडफोडबाट बैंकलाई भौतिक क्षति पुगेको छ भने प्रदर्शनको नेतृत्वकर्ता केशरी हाल फरार छन । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।प्रदर्शनकारीले लघुवित्त संस्था खारेज गर, २० लाखसम्मको ऋण मिनाहा गर, जग्गाजमिन, घरारी लिलाम गर्न पाइदैन, लिलाम गरेको जग्गा फिर्ता गर, सर्वसाधारणको बचत फिर्ता गर, २० लाख देखिको ऋणीलाई ७ प्रतिशत ब्याज दर कायम गर, ८ प्रतिशतभन्दा बढी लिएको ब्याज फिर्ता गरलगायतका नारा लगाएका थिए ।
फोटो पनि छ ।



















