विकासका लागि एक अर्काको हातेमालो अति आवश्यक छ । स्थानीय विकासको अगुवाइ स्थानीय तहले नै गर्ने भएपनि यस्ता कार्यहरुमा संघीय संसदमा प्रतिनिधित्व गर्नेहरुको बढी नै भूमिका रहने गर्दछ ।त्यसैले बाराको क्षेत्र नम्बर १ बाट हालै निर्वाचित सांसद गणेश धिमालसँग निजगढ नगरपालिकाले केही आशा र सहकार्यको कुरा गरेको छ । मुख्यतः निजगढ– काठमाण्डौं द्रुत मार्गदेखि नदीजन्य पदार्थ उत्खननमा स्पष्ट मापदण्ड बनाइनुपर्ने माग गरिएको छ । तत्काल र आगामी वर्षमा पहल पहल गर्नुपर्ने डेढ दर्जनभन्दा बढी योजनाको विवरणसहित पत्र बुझाइएको हो । यसले स्थानीय सरकार यी विषयमा सांसदसँग सहकार्य तयार छ भन्ने संदेश पनि जान्छ ।

विशेषगरी तत्काल गर्नुपर्ने योजनाहरुको सूचीमा हालैको हावाहुरीबाट निजगढमा केरा र मकैबालीमा भएको क्षति र पीडित किसानहरु राहत र क्षतिपूर्तीको लागि आवश्यक समन्वय, सहकार्य र सार्थक पहललगायत विषयहरु छन् अनि चालु आ.व. २०८२।०८३ को लागि स्वीकृत भई कार्यान्वयनको चरणमा स्थगित भएका निजगढ स्मार्ट सिटीमा स्मार्ट एप्लिकेशन, बसपार्क निर्माण तथा निजगढ नगरपालिका वडा नं. १ सिंगौलको चौबाटोदेखि शिव मन्दिर कछडिया टोल हाट बजारदेखि उत्तर पिपलटारसम्म सडक स्तरोन्नति, निजगढ न.पा. १३ डम्मरपुर कोलगाउँ रामथली बुङजोर हुँदै निजगढ न.पा. १० मोहोरी सडक कालोपत्रे जस्ता योजना पनि तत्काल पहल गर्नुपर्ने योजनमा परेको छ ।
गौरीशंकर क्याम्पस भवन निजगढ नपा ९, लोकप्रिय आधारभूत विद्यालय निजगढ नपा २ र श्री नेरामावि विद्यालय भवन निजगढ न.पा. ११ को भवन निर्माण, निजगढ ४ स्थित गणेशमान सिंह पार्क मोहोरी व्यवस्थापन, निजगढ ९ को आर्यघाट निर्माणलगायतका योजनाहरुलाई पनि सोही सूचीमा राखिएको छ ।

आगामी आ.व. २०८३।०८४ को लागि भने जेनजी आन्दोलनको क्रममा क्षति पुगेको नगरपालिका तथा वडा कार्यालयको भवन निर्माणको बजेट व्यवस्थापन, बहुप्राविधिक शिक्षालयको स्थापना, नगर अस्पताल सञ्चालनको लागि भौतिक संरचना निर्माणदेखि उपकरण र उपचार कक्ष स्थापनामा आवश्यक सामाग्री व्यवस्थापनको लागि पहल गर्न भनिएको छ ।नगरपालिकाले पेस गरेका यी योजनाहरु केवल माननीय रुपमा गणेश धिमालले एक्लैले पूरा गर्न सक्ने कुरा होइन । तर उहाँको पार्टी रास्वपाको शक्तिशाली सरकार बन्न लागेका कारण स्वभाविक रुपमा धेरै कुरा संभव पनि होला तर सहकार्य भने सदैव आवश्यक छ ।

Leave a Reply