वीरगञ्ज,वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका साना–ठुला कृषि उपकरणहरू धमाधम बिक्री वितरण भइरहेको छ ।राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य महावीर पुनको नेतृत्वमा सञ्चालित कारखानाले चालु आर्थिक वर्षको ९ महिनामा १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरिसकेको हो ।
कारखानाका इन्जिनियर रितेश देवले चालु आर्थिक वर्षको अन्त्यसम्म ५० लाख रुपैयाँ बराबरका औजार बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । ‘३० भन्दा बढी कृषि औजारमा अनुसन्धान गरिसकेका छौँ,’ उहाँले भन्नुभयोे, ‘१० प्रकारका औजार उत्पादन गरेर बिक्री भइरहेका छन् ।’
सबै किसानले किन्न सक्ने कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य रहेको प्रस्ट पार्दै देवले सोही अनुसार काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कारखानाले एक हजारदेखि १ लाख रुपैयाँसम्म मूल्य पर्ने औजार उत्पादन गरेको छ ।

इन्जिनियर देवले नेपालमा उत्पादन हुने अन्नबालीहरू मकै, धान, गहुँ लगायत उखु र आलु रोप्ने मेसिन, गोडमेल गर्ने मेसिन, काट्ने औजारहरू बजारमा बिक्री भइरहेको बताउनुभयो ।
राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हालसम्म आफ्नो किताब बिक्री गरेर २० करोड रुपैयाँभन्दा धेरै रकम सङ्कलन गरिसकेका छन्, जसमध्ये कारखानामा सञ्चालनका लागि ३ करोड लगानी भइसकेको जनाइएको छ ।
कारखानाले हाते औजारका साथै मकै रोप्ने, मकै गोड्ने, धान रोप्ने, गोड्ने, काट्ने, हाते ट्याक्टरको ट्रली, केराको रेशाबाट फाइबर बनाउने मेसिन निर्माण गरेको छ ।कृषि औजार कारखानामा प्राविधिक सहित ४५ जना कर्मचारी कार्यरत छन् । उनीहरूका लागि मासिक खर्च ६ लाख रुपैयाँ हुने गर्दछ ।
२०५९ सालमा बन्द भएको कारखाना २०७९ कात्तिकमा राष्ट्रिय अविष्कार केन्द्रले १० वर्षका लागि नेपाल सरकारसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी लिएको हो ।
वीरगञ्जमा आत्मकथा बिक्री गर्दै महावीर पुन
वीरगञ्ज,प्रतिनिधिसभा सदस्य डा. महावीर पुनले सोमबार बिहान वीरगञ्ज आएर आफ्नो आत्मकथा पुस्तक बिक्री गर्नुभएको छ ।हालै सम्पन्न निर्वाचनमा म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपश्चात पहिलोपटक वीरगञ्ज आइपुग्नुभएका सांसद पुनले बिहानैदेखि आफ्नो पुस्तक प्रचार र बिक्री अभियान सञ्चालन गर्नुभएको हो ।
उहाँले बिहान ८ बजेदेखि ११ बजेसम्म वीरगञ्जको मुख्य चोक घन्टाघर र रामजनम तिवारीको सालिक परिसरमा बसेर पुस्तक बिक्री गर्नुभएको थियो ।
आफ्नो आत्मकथा लिएर सडकमा निस्किएका पुनलाई साथ दिन स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । पुस्तक बिक्रीका क्रममा उहाँले आफू किताब लिएर आएको बताउँदै नागरिकहरूलाई पुस्तक खरिद गरिदिएर आफ्नो अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

घन्टाघर क्षेत्रमा पुस्तक बिक्री गरिसकेपछि उहाँले कृषि औजार कारखानामा पुगेर पनि पुस्तक बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । डा. पुनका अनुसार यस पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम बन्द अवस्थामा रहेको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि खर्च गरिनेछ ।उहाँले यस अभियानमार्फत हालसम्म करिब ५० जनालाई रोजगारी प्रदान गर्न सफल भएको गौरवपूर्ण जानकारी समेत दिनुभएको छ । स्वदेशमै उत्पादन बढाउने र नेपाली युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने दीर्घकालीन लक्ष्यका साथ आफू यस्ता अभियानमा होमिएको पुनले स्पष्ट पार्नुभएको छ ।उहाँको यो कार्यले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै उद्यमशीलताप्रति नागरिकको चासो बढाएको पाइएको छ ।

Leave a Reply