निजगढ,अवैधरूपमा बालुवा लोड तीनवटा ट्याक्टरलाई ३० हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको छ ।निजगढ नगरपालिका– ९ स्थित बकैया खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरी लोड गरी लैजान लागेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी वरिष्ठ हवल्दार कुलबहादुर मगर नेतृत्वको टोलीले हिजो बा.प्र.२–०३–००१त१८०८, ना.७त ३०१ र म.प्र.२–०३–००१त७४६५ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिई इप्रका, निजगढ परिसरमा राखेको थियो ।
नगरपालिका क्षेत्रका बकैया, धन्सार, बगर, लाल–भक्तलाल, शक्ति खोलालगायत अन्य कुनै पनि खोलामा चालू आर्थिक वर्षको अहिलेसम्म नदीजन्य पदार्थको ठेक्का लगाइएको छैन । खोला ठेक्का नलागेकाले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्ने, ओसारपसार गर्ने जस्ता कार्यलाई कानूनले प्रतिबन्ध गरेको छ ।
प्रतिबन्धित समयमा ती ट्याक्टरहरूले नदीजन्य पदार्थ बालुवा उत्खनन गरी लोड गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । निजगढ नगरपालिकाले तोकेको प्रतिट्याक्टर रु १० हजारका दरले जरिवाना तिरेको रसिद सो बालुवा लोड ट्याक्टरधनीहरूले बुझाएसँगै नियन्त्रणमा लिइएका ट्याक्टरलाई छोडिएको इप्रका, निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले बताउनुभयो ।
खोला ठेक्का लाग्दा पनि वातावरणीय परीक्षण प्रतिवेदनले तोकिदिएको क्षेत्रबाट मात्रै मापदण्डको पालना गरी उत्खनन गर्नुपर्ने हुन्छ ।बाराको निजगढ नगरपालिका क्षेत्रमा अवैध बालुवा उत्खनन रोक्न प्रहरीले सक्रियता बढाएपछि अवैध उत्खनन र ओसारपसारमा सक्रिय ट्याक्टर नियन्त्रणमा लिइएको हो ।



















