सिमरा,एलपी ग्यासको सुरक्षित प्रयोग र आगलागी नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १६ पिलुवामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।पिलुवास्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजनामा सम्पन्न एकदिने तालिम कार्यक्रममा काठमाडौंको स्टार सेफ्टी सर्भिस प्रा.लि.ले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने सुरक्षा मापदण्ड, सिलिन्डरको संरचना तथा सम्भावित जोखिमबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।
विशेषगरी ग्यास चुहावट वा आगलागीको अवस्था सिर्जना हुँदा अपनाउनुपर्ने सावधानीका उपायहरू व्यवहारिक अभ्यासमार्फत प्रदर्शन गरिएको थियो । प्रशिक्षकहरूले आगो नियन्त्रण गर्ने तरिका, जोखिम न्यूनीकरण तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्ब १६ का वडा अध्यक्ष हरिदेव खरेलले सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न टेवा पुग्ने बताउनुभयो । उहाँले ग्यास सुरक्षासम्बन्धी ज्ञान जनस्तरसम्म विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उद्योगका प्रबन्धक सरोज ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले तालिम व्यवहारिक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन ।कार्यक्रमकै अवसरमा लक्की ड्रमार्फत ६ जना सहभागीलाई ग्यास सिलिन्डरसहित उपहार प्रदान गरिएको थियो । ग्यास वान नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हिडेकी फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी, स्थानीय विद्यार्थी, उपभोक्ता तथा उद्योगका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राजकुमार गुरुङले व्यक्त गर्नुभएको थियो भने स्थानीय समाजसेवी तथा शिक्षाविद् राधेश्याम शिवाकोटी, सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल र युवा व्यवसायी रुपेश न्यौपानेलगायतको सहभागिता रहेको थियो ।


















