कृष्ण मोहन साह
सेढवा,नयाँ वर्ष २०२३ मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले ठोरीको विभिन्न स्थान भरिभराउ भएको छ ।अग्रेजी नयाँ वर्ष मनाउन पर्यटकहरु बिहान ८ बजेदेखि नै ठोरी आउने क्रम थियो भने साँझसम्म पनि सपरिवार पिकनिक मनाउन आउनेको क्रम उत्तिकै देखिन्थ्यो ।नेपालको बारा, पर्सा, रौतहटदेखि पिकनिक मनाउन आन्तरिक पर्यटकहरू आएका थिए भने भारतको राजेस्थानदेखिका पर्यटकहरु शनिबारदेखि नै ठोरी आएर रात बसेको स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताउनुभयो । भारतको उत्तरप्रदेश, पटना, मोतीहारी, मुजफ्फरपुर, नरकटियागंज, बेतिया लगायतका स्थानदेखि परिवारका सदस्यहरु नयाँ वर्ष मनाउन ठोरी आएका थिए ।नेपालको मनोरम दृश्य र ठोरीको पहाड, नदी, वनजंगल मनपर्ने भएको हुँदा करिब ८ वर्ष अघिदेखि नयाँ वर्ष मनाउन ठोरी आउने गरिएको मोतीहारीबाट नयाँ वर्ष मनाउन आएका राहुल गुप्ताले बताउनुभयो । मोतिहारीमा नदी र पहाड नभएको र ठोरी आउँदा सबै देखिन पाइने भएको हुँदा आफूहरु ठोरी आउने गरेको बेतियाबाट ठोरी घुम्न आउनुभएका राजन कुमार श्रीवास्तवले बताउनुभयो ।ठोरीलाई अझै पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सके र पयर्टकहरु थप आकर्षित हुने समेत श्रीवास्तवले बताउनुभयो । पर्यटकहरुलाई लोभ्याउन सक्ने स्थानहरु ठोरीमा प्रशस्त भएको बताउँदै यसको बिकास गर्न सके प्र्यटकहरुको रोजाइमा ठोरी पर्ने समेत श्रीवास्तवले बताउनुभयो ।पिकनिक खान आउने पर्यटकहरुका कारण ठोरीको राइधारा गणेशमान पार्क, ठुटेखोला, रानीबन, चिसापानी, कृष्ण मन्दिरको चौर, सीतागुफा पूर्वको खोला, गोलेडाँडा लगायतका स्थानहरु आइतवार भरिभराउ थियो ।ठोरीमा रहेको ठोरी जंगल रिसोर्ट, द फुड स्याक रेष्टुरेन्ट, न्यु स्टार होटल ठोरी माउन्ट भ्यु रिसोर्ट, प्रकाश होटल तथा ठोरीमा रहेका ससाना होटलहरुका आकर्षणले पनि पर्यटकहरूलाई आकर्षण गर्ने गरेको छ । झुलुङ्गेपुल, सीतागुफा, बुद्ध टिकटक स्टोन पार्क तथा विभिन्न मठ मन्दिरमा पनि घुम्न आउनेहरुको अत्यन्तै भिडभाड नै देखिएको थियो ।नयाँ वर्षको दिन ठोरीमा हजारौंको संख्यामा ठोरी आउने पर्यटकहरुको शान्तिसुरक्षाको निम्ति इलाका प्रहरी कार्यालय ठोरी, सीमा चौकी बुद्धनगर, बिजयबस्ती चौकी र सुवर्णपुर चौकी लगायतबाट पनि प्रहरी अधिकारीहरु सहित प्रहरीहरुले बिहानदेखि नै शान्ति सुरक्षा प्रदान गरिरहेको र जिल्ला प्रहरी कार्यालय पर्साबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा आएको टोलीलेसमेत शान्ति सुरक्षामा भरपुर मद्दत गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।त्यस्तै पर्यटकहरुको शान्ति सुरक्षाको निम्ति सशस्त्र प्रहरीहरुले पनि बिहानदेखि नै सेवा र आवागमनमा सहजता गराइरहेको थियो । ब्रह्मनगर बिओपी, बिजयबस्ती र सुवर्णपुरबाट थप सशस्त्र प्रहरी मगाएर ४० जना सशस्त्र प्रहरीहरुलाई शान्ति सुरक्षामा खटाइएको सशस्त्र सीमा सुरक्षा बल बिओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक नारायण सेढाईले जानकारी दिनुभयो ।



















