सिमरा,मधेस प्रदेशको पर्यटन प्रवद्र्धन र ऐतिहासिक तथा सांस्कृतिक सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ सिमरामा बिहीबारदेखि चार दिने ‘कल्चर एण्ड हेरिटेज टुर’ तालिम सुरु भएको छ । सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित उक्त तालिम चैत ८ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) तथा दिगो पर्यटन परियोजनाको सहकार्यमा नाटा मधेस प्रदेशद्धारा आयोजित तालिममा होटल तथा पर्यटन व्यवसायमा आवद्ध ३० जनाको सहभागिता रहेको छ ।
कोरोना महामारी र आर्थिक सुस्ततापछि सुस्ताएको पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै मधेस प्रदेशमा पर्यटक कसरी भित्र्याउन सकिन्छ र सांस्कृतिक सम्पदाको बजारीकरण कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर तालिम सञ्चालन हुने बताइएको छ । तालिममा प्रोफेसर डा. पशुपति न्यौपाने र गुठी संस्थाका राजेन्द्र दाहालले प्रशिक्षण दिनेछन् ।
नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहे पनि त्यसको सही उजागर हुन नसकेको भन्दै यस्ता तालिमले दक्ष जनशक्ति उत्पादन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा नाटा मधेस प्रदेशका संस्थापक सल्लाहकार युवराज लामा, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले मधेसको पर्यटन विकासका चुनौती र समाधानका उपायबारे चर्चा गरेका थिए ।
यसैगरी पर्यटन व्यवसायी यज्ञमुर्ती आचार्य, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, पूर्वअध्यक्ष सञ्जय साह, होटल तथा पर्यटन सहकारी संस्थाकाका अध्यक्ष प्रलाद उप्रेती लगायतले पर्यटन प्रवद्र्धनका लागि निजी र सरकारी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
चार दिनसम्म चल्ने यस तालिमले सहभागीहरूलाई मधेसको संस्कृति, सम्पदा र पर्यटकलाई दिइने सेवाको गुणस्तरका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेको नाटाका सदस्य सदाम हुसेन अंसारीले बताउनुभयो । तालिमको उद्घाटन समारोहको सहजीकरण नाटा मधेश प्रदेशका महासचिव सुदर्शन काफ्लेले गर्नुभएको छ ।


















