पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ बजेटमा समेटिएका योजनाहरुको उधारैमा भएपनि कार्यान्वयन गर्ने निर्णय गरेको छ ।बुधबार बसेको कार्यपालिका बैठकले समग्र आर्थिक अवस्थाको मुल्याङ्कन गर्दै यसअघि भुक्तानी गर्न बाँकी रकमलाई प्राथमिता दिने र चालु आर्थिक वर्षको कामको भुक्तनी भने संभव भएसम्म यसै वर्ष नसके आगामी आर्थिक वर्ष २०८३।०८४ मा गर्ने गरी सम्झौता गर्ने भएको हो । योजनाहरुको सम्झौता र कार्यादेश सम्बन्धि काम भोलिबाटै नै सुरु गरिने जनाइएको छ ।
पालिका स्रोतका अनुसार कार्यालयमा भरखरै हाजिर हुुनुभएका प्रमुख प्रसाशकीय अधिकृत डमरुप्रसाद निरौलाको सक्रियतामा आयोजना गरिएको कार्यपालिका बैठकले पालिकाको आर्थिक अवस्था मुल्याङ्कन सहितको सम्पन्न योजनाको भुक्तानीलाई प्राथमिताका साथ यस वर्षका योजना संचालन गर्ने निर्णय गरेको हो ।

चालु वर्षको योजना संचालन गर्न सम्झौता गर्दा उपभोक्ता समिति वा ठेकेदार कम्पनीहरुलाई भुक्तानीमा ढिला हुन सक्नेबारे पूर्व जानकारी दिएर मात्रै सम्झौता गर्ने भनिएको छ । सम्पन्न योजनाको भुक्तानी आगामी आ.व.को असोज कार्तिक महिनासम्म जान पनि सक्ने भएकोले तत्कालको लागि आफैले रकम खर्च गरेर भुक्तानीको लागि पर्खिन सक्ने कम्पनी वा उपभोक्ता समितिहरुसँग मात्रै सम्झौता गरिने तयारी गरिएको हो ।
‘पहिला लगानी गरेर भुक्तानीका लागि कुर्न सक्ने क्षमता स्वघोषण गराएर मात्रै सम्झौता सहित कार्यादेश दिने बैठकमा सहमती बनेको हो ।’ पालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले बताउनुभयो ।

पालिकाले बहुवर्षीय योजना अन्तरगतका विकास निर्माण अन्तरगत सम्पन्न योजनाहरुको ठुलो रकम लामो समयदेखि भुक्तानी गर्न सकेको छैन । पालिकाको आन्तरिक आयमा गत वर्षको तुलना निकै ह्रास आउँदा थप समस्या भएको हो । गतबर्ष २६ करोड बढी आन्तरिक आय गरेको पालिकाले यो आर्थिक वर्ष बित्न ४ महिना बाँकी हुँदा करिब सवा ७ करोड मात्रै आन्तरिक आय गरिएको उपमेयर अधिकारीले जानकारी दिनुभयो ।

यस्तै संघीय सरकारले पालिका लागि छुट्याएको बजेटमा २५ देखी ३० रकम घटाएर मात्रै बजेट कार्यान्वय गर्न सबै पालिकाहरुमा निर्देशनात्मक परिपत्र गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा विकास बजेटबाट एउटा पनि काम सुरु नगरेको पालिकाले उधारै सम्झौता गरेर भएपनि यस वर्ष विकास निर्माणको कामलाई निरन्तरता दिन चाहेको उहाँको भनाई थियो ।

Leave a Reply