रौतहट राजपुर बम विस्फोटका आरोपित निलम्बित सांसद मोहम्मद आफताब आलमलाई शनिबार बिहान नख्खु कारागार चलान गरिएको छ । जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले शनिबार बिहान आलमलाई ललितपुरको नख्खु कारागार ल्याएको हो ।
कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले आवश्यक प्रक्रिया पुर्याएर आलमलाई नख्खु कारागारमा राखिएको बताए। प्रदेश २ का प्रहरी प्रमुख डिआईजी पद्युन्नकुमार कार्कीले आलमलाई अदालतको आदेशअनुसार सुरक्षित कारागारका रुपमा नख्खु पठाइएको प्रतिक्रिया दिए।
पूर्वमन्त्री एवं काग्रेस नेता आलमलाई पुर्पक्ष गरिएपछि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गर्दै रौतहटबाट उपत्यका कारागार चलान गरिएको प्रहरीले जनाएको छ। आलम राजपुरका बासिन्दा हुन्। शुक्रबार पुर्पक्षको आदेश दिए लगत्तै जिल्ला न्यायाधीश र सरकारी वकिलको कार्यालयका अधिकारीहरुसमेत रौतहट छोडेर काठमाडौं आइसकेका छन्। संभार : कान्तिपुर