नरेश गुप्ता
बरियारपुर,जनमत पार्टी बाराले किसानका समस्याहरु समधान गर्नु पर्ने माग राखेर जिल्लामा शान्तिपुर्ण प्रदर्शन गर्ने बताएको छ ।
सो पार्टीको जिल्ला समन्वय समिति बाराका कार्यवाहक अध्यक्ष बिनोदप्रसाद यादवले कलैयामा पत्रकार समेलनको आयोजना गरि किसानको हकहितको लागि शान्तिपुर्ण प्रदर्शन गर्ने बारेमा जानकारी गराउनुभएको हो ।
जनमत पार्टीले केन्द्रीय कार्यक्रम अनुसार किसानका समस्यासंग सम्बन्धित माग सम्बोधन गर्नुपर्ने, मलखाद, बिउ र सिँचाईको समयमा व्यवस्था हुनुपर्ने, आन्दोलनको क्रममा पक्राउ परेकोहरुको रिहा लगायत माग राखेर देशव्यापी आन्दोलन गर्दैै आएको छ ।
आन्दोलनको सप्ताहव्यापी कार्यक्रमअनुसार कार्यकर्ताहरुले बाराको पथलैयामा एक घन्टासम्म अर्धनग्न बनेर चक्का जाम गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यसैगरी आइतबार कलैयाको भरतचोकमा शान्तिपुर्ण कोणसभा आयोजना गर्ने र त्यसपछि पनि आफ्ना माग पूरा नगरिए केन्द्रीय कार्यक्रम अनुसार अर्को चरणको आन्दोलन सुरु गर्ने पत्रकार समेलनमा जानकारी गराइएको थियो ।
पत्रकार समेलनमा जनमत पार्टीका केन्द्रीय सद्स्य रामबाबु साह, ओमप्रकाश साह, जिल्ला कोषाध्यक्ष हरिप्रसाद कुर्मी, दलित जनमत संघ बाराका अध्यक्ष बिकेश पासवान, केन्द्रीय प्रचार विभाग सदस्य सुरेश साहलगायतको सहभागिता रहेको थियो ।