निजगढ,सोमबार आएको हावाहुरीले निजगढलगायत बारा र रौतहट जिल्लाका विभिन्न पालिकाका किसानले लगाएको मकै र केरा बालीमा ठूलो क्षति गरेको छ ।तीव्र गतिमा आएको हावाहुरीका कारण मकै र केरावालीमा व्यापक क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन् ।

स्थानीयका अनुसार हावाहुरीले विशेषगरी केराखेतीमा ठूलो क्षति पु¥याएको छ । निजगढको सिंगौल क्षेत्रमा मात्रै करोडौं रुपैयाँ बराबरको केरावाली नष्ट भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारकर्मी बसन्त लामाका अनुसार उक्त क्षेत्रमा धेरैजसो खेती ऐलानी जग्गामा गरिएकाले किसानहरूले बाली बीमा गर्न पाएका छैनन्, जसले गर्दा क्षतिपूर्तिको विषय थप जटिल बनेको छ ।
“केरा खेतीमा मात्रै करोडौंको क्षति भएको छ,” लामाले भन्नुभयो, “ऐलानी जग्गामा खेती गरिएकाले बीमा नभएको हुँदा किसानहरू झन् मारमा परेका छन् ।”
त्यस्तैगरी निजगढ– ६ की किसान देवकी सापकोटाले करिब तीन बिघा जमिनमा लगाएको मकै पूर्णरूपमा नष्ट भएको बताउनुभयो । उहाँका अनुसार हावाहुरीले मकैका बोट ढालेर सबै बाली सखाप पारेको छ । साथै उहाँले लगाएको केरावालीमा समेत क्षति पुगेको छ ।“हावाहुरीले केही बाँकी राखेन,” सापकोटाले भन्नुभयो, “मकै र केरा सबै बारीमै ढल्यो, लगानी खेर गयो । ठूलो नोक्सानी भयो ।”

हावाहुरीपछि प्रभावित क्षेत्रमा किसानहरूले क्षतिको विवरण संकलन गरी स्थानीय तहमा बुझाउन थालेका छन् । किसानहरूले राहत तथा क्षतिपूर्तिको माग गर्दै नगरपालिकाले यथाशीघ्र पहल गर्ने अपेक्षा गरेका छन् ।
स्थानीय सरकारका प्रतिनिधिहरूले क्षतिको प्रारम्भिक विवरण संकलन सुरु भइसकेको जनाएका छन् । यद्यपि, वास्तविक क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने बताइएको छ । कृषिमा निर्भर किसानहरू यतिबेला राहतको आशामा बसेका छन् ।
निजगढ तथा सिंगौल क्षेत्रमा यसअघि पनि प्राकृतिक विपद्का कारण बालीमा क्षति पुग्दै आएको भए पनि यसपटकको हावाहुरीले ठूलो परिमाणमा असर पारेको स्थानीय बताउँछन् ।त्यसैगरी सोमबार साझ आएको हावाहुरीका कारण रौतहटको उत्तरी भेगमा लगाइएका मकै बालीमा ठूलो क्षति पुगेको छ ।

हावाहुरीका कारण चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाका किसानले लगाएको मकै बालीमा क्षति भएको स्थानीय कृषकले जनाएका छन् । हावाहुरीका कारण मकैमा घोगा लाग्ने समयमा बाली ढलेपछि उत्पादनमा असर पर्ने देखिएको वृन्दावन नगरपालिका– ४ का कृषक रामकल्याण यादवले बताउनुभयो । उहाँका अनुसार सोमबार साझको हावाहुरीले वृन्दावन नगरपालिकामा मात्र २ सय बिघामा लगाइएका मकै बाली ढलेको छ । घोगा लाग्ने बेलामै मकै ढल्दा उत्पादनमा कमी आउने र त्यसको प्रत्यक्ष असर जिविकोपार्जनमा पर्ने बृन्दावन नगरपालिका २ का वडा अध्यक्ष सिकेन्द्र राउत कुर्मीले भन्नुभयो ।
वर्षेनि प्राकृतिक विपत्तिका कारण बालि क्षति हुने तर किसानलाई कुनै निकायबाट सहयोग नहुँदा कृषि पेशातर्फ आकर्षण घट्दो क्रममा रहेको चन्द्रपुर ५ का स्थानीय पुजा झाले बताउनुभयो । मकै बालीमा क्षति हुँदा नगरपालिकाले कुनै चासो समेत नराखेको उहाँले गुनासो गर्नुभयो ।

गुजरा नगरपालिकाका कार्यपालिका सदस्य बिजय साह बानियाका अनुसार किसानले लगाएको मकै बाली हावाहुरिले क्षतिग्रस्त हुँदा तिनैतहको सरकार संबेदनसिल हुनु पर्ने बताउनुभयो । कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार हावाहुरीले किसानले लगाएको बालीमा क्षती पुगेको तथा हालसम्म क्षतिको विवरण सङ्कलन नभएकोले सङ्कलनपछि मात्रै वास्तविक क्षतिको तथ्याङ्क भन्न सकिनेछ ।
हावाहुरीले विद्युत् र सञ्चार अवरुद्ध
निजगढ,सोमबार आएको हावाहुरीपछि बाराको निजगढ नगरपालिकाको उत्तरी क्षेत्रका विभिन्न बस्तीमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । विद्युत र इन्टरनेट अवरुद्ध हुँदा निजगढको लाल, रतनपुर, बोङ्जोर, कोलगाउँ, भक्तलाल र डम्बरपुर क्षेत्रका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका हुन् ।
हावाहुरीका कारण विद्युत् आपूर्ति बन्द भएसँगै सञ्चार सेवा पनि पूर्ण रूपमा प्रभावित भएको स्थानीयले बताएका छन् । ती क्षेत्रमा रहेको नेपाल टेलिकम (ल्त्ऋ) को टावरमा पर्याप्त वैकल्पिक ऊर्जा व्यवस्था नभएकाले समस्या झनै बढेको हो । अतिरिक्त पावर ब्याकअप, सोलार इन्वर्टर लगायतका उपकरणको अभाव हुँदा टावरले लामो समयसम्म सेवा दिन नसकेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा रहेको एक मात्र टावरले पनि सबै ठाउँमा प्रभावकारी रूपमा सेवा दिन सकेको छैन । विद्युत् आपूर्ति अवरुद्ध भएपछि टेलिकम सेवा पूर्ण रूपमा बन्द हुँदा नेपाल टेलिकम र एनसेल दुवैका प्रयोगकर्ता सञ्चारविहीन बनेका छन् ।“बत्ती गएपछि फोन र इन्टरनेट दुवै चल्दैन,” स्थानीय एक बासिन्दाले भने, “आपतकालीन अवस्थामा पनि सम्पर्कविहीन हुनुपर्दा निकै समस्या भएको छ ।”

सञ्चार सेवा अवरुद्ध हुँदा दैनिक जनजीवन मात्र नभई आपत्कालीन सेवा, स्वास्थ्य तथा सुरक्षासम्बन्धी काममा समेत असर परेको स्थानीयहरुले गुनासो गरेका छन् ।स्थानीय बासिन्दाले नेपाल सरकार तथा स्थानीय तहसँग उक्त क्षेत्रमा सञ्चार पूर्वाधार सुदृढ गर्न माग गरेका छन् ।

Leave a Reply