काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सुरु भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ भने प्रमुख राजनीतिक दल नेकपा (एमाले) चौथो स्थानमा धकेलिएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ हजार १ सय ३० मत प्राप्त गरेको छ। त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ हजार १३ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा (एमाले) भने जम्मा ६ सय ७ मत प्राप्त गर्दै चौथो नम्बरमा सीमित भएको छ। प्रत्यक्षतर्फको नतिजामा उल्लेख्य सिटमा अग्रता लिइरहेको रास्वपाले समानुपातिकतर्फ पनि परम्परागत ठूला शक्तिहरूलाई पछाडि छाडेको छ।
शीर्ष चार दलपछि अन्य साना दलहरूले पनि केही सयको संख्यामा मत बटुलेका छन्। श्रम संस्कृति पार्टीले २२२ मत ल्याएर पाँचौं स्थान बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले १७९ र राष्ट्रिय परिवर्तन पार्टीले १३३ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाल जनता संरक्षण पार्टीले ५८, नेपाल मजदुर किसान पार्टीले ३३ र प्रगतिशील लोकतान्त्रिक पार्टीले ३२ मत आफ्नो पोल्टामा पारेका छन्।
हालसम्मको मतगणनामा नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल जनमुक्ति पार्टी, नागरिक शक्ति नेपाललगायत करिब एक दर्जन दलले भने खाता नै खोल्न सकेका छैनन्। उनीहरूको मतसंख्या शून्य छ। सुरुवातमा गनिएको मत काठमाडौँ एकको भएको बताइएको छ । त्यसपछि क्रमश: अन्य क्षेत्रमा पनि गनिने निर्वाचन आयोगले जनाएको छ ।




















