निजगढ,‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– १६ मा निर्माण भइरहेको घरहरूको जग्गा विवाद चर्किएको छ ।विपन्न तथा दलित समुदायका लागि निर्माण भइरहेका घरहरुको जग्गाको स्वामित्वलाई लिएर उपमहानगरपालिकाको वडा नम्बर १५ र १६ बीचमा सिर्जना भएको हो ।
विवादको कारणले निर्माण कार्य नै रोक्नुपर्ने अवस्था आउने संकेत देखिए पनि जिल्ला प्रशासन कार्यालय बाराले अहिलेका लागि निर्माण कार्य रोक्ने निर्णय नगरेको जनाएको छ ।
आफ्नो वडाको क्षेत्रभित्र पर्ने भनेर वडा नम्बर १६ को पहलमा घर निर्माण हुदैगरेको बेला वडा नम्बर १५ ले पनि सो जमिन आफ्नो वडाभित्र पर्ने दाबी गर्दै निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालय बारा र पूर्वाधार विकास कार्यालय बारामा लिखित रूपमा पत्राचार गरेपछि विवाद चर्किएको हो ।वडा १५ को दाबी अनुसार, निर्माण भइरहेको स्थानमा पहिला बालगंगा खोला रहेको र खोला भएको सोही स्थानमा केही व्यक्तिहरुको निजी नम्बरी निजी जग्गा पनि भएकाले त्यहाँ पक्की संरचना बनाउँदा प्रभावित हुने जिकिर गरिरहेको छ । तर वडा नम्बर १६ का वडा समितिका पदाधिकारी र स्थानीय बासिन्दाले भने २०७७ सालमै सिमाना नापजाँच भइसकेको र सो क्षेत्र वडा १६ कै भएको दाबी गरेका छन ।
यसैबीच, बिहीवार जिल्ला प्रशासन कार्यालय बाराले निर्माणस्थलमा अनुगमन गरेको छ । अनुगमनमा पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार अहिले वर्षा र हिलोका कारण स्थलको सटीक नापजाँच गर्न सम्भव छैन । ‘उक्त क्षेत्र नदी उकास र दुबै वडाको सीमाना क्षेत्र भएकाले नापी गर्न सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘दुवै वडाले आ–आफ्नो स्वार्थअनुसार व्याख्या गर्ने भएकाले स्वतन्त्र रूपमा नापी कार्यालयबाट प्राविधिक खटाएर मात्रै स्पष्ट हुने र त्यसपछि मात्र कुन वडाको जमिन हो भन्ने निष्कर्ष निस्किन्छ ।’
भट्टराईका अनुसार, हाल निर्माण कार्य अगाडि बढिरहेको छ र प्रशासनले तत्कालका लागि त्यसलाई रोक्ने निर्णय गरेको छैन ।यसैगरी, डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले पनि सो क्षेत्रको जग्गा वन क्षेत्रमा पर्छ कि निजी स्वामित्वको हो भन्ने अहिले नै भन्न नसकिने बताउनुभएको छ । ‘केही स्थान नदीको धार परिवर्तनसँगै सरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले नापजाँच नगरी स्पष्ट रूपमा यसै भन्न सकिने अवस्था छैन ।’
पूर्वाधार विकास कार्यालय बाराकी प्रमुख रिम्पुकुमारी यादवका अनुसार, निर्माण कार्य सबै प्राविधिक मापदण्ड र इस्टिमेट अनुसार भइरहेको छ । उहाँले सो क्षेत्र दलित र विपन्न समुदायको बसोबास भएको उल्लेख गर्दै केही व्यक्तिहरूले नियोजित रूपमा विकास कार्यमा अवरोध सिर्जना गरिरहेको बताउनुभएको छ ।‘हामी लालपुर्जा हेर्दैनौँ,’ यादवले भन्नुभयो, ‘वडाबाट सिफारिस भएर आएका स्थानहरूमा मात्र घर निर्माण गर्दै आएका छौँ । बाराका ३२५ स्थानमा यस्ता घर निर्माण भइरहेका छन ।’
विवाद चर्किदै गर्दा वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने पनि अनुगमन गर्न स्थलमा पुग्नुभएको थियो । वडा अध्यक्ष लामिछानेले आफ्नो वडाको जमिन भएको दाबी गरेपछि स्थानीयले उहाँको प्रतिरोध गर्नुको साथै हातपातको समेत प्रयास गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले लामिछानेलाई सुरक्षितरूपमा बाहिर निकाल्न सहयोग गर्नुभएको थियो । तर स्थानीयहरूले लामिछाने सवार मोटरसाइकलको समेत पिछा गरेर लखेटेका थिए ।
वडा नम्बर १६ का पूर्व वडा अध्यक्ष केदार बजगाईंका अनुसार, ‘२०७७ सालमै नापजाँच गरेर उक्त क्षेत्र वडा १६ भित्र पर्ने प्रमाणित भइसकेको थियो । त्यसपछि सोही आधारमा वडाको सिमनामा रहेको खेलामा वडा नम्बर १६ कै लगानीमा तटबन्ध निर्माणसमेत गरिएको हो ।’यता वर्तमान वडा अध्यक्ष खरेलले दलित समुदायका लागि बनाइँदै गरेका पक्की घरहरूमा नियोजित रूपमा अवरोध सिर्जना भइरहेको दाबी गर्नुभएको छ । ‘झुपडीमा जीवन गुजार्दै आएका दलित र माझी समुदायले सम्मानजनक जीवन जिउन पाउने भएपछि केही व्यक्ति असहज भएका छन,’ उहाँले भन्नुभयो, ‘यस्तो कार्यले उनीहरूको आत्मविश्वास र विकासप्रतिको आशामा चोट पुर्याएको छ ।’
उहाँका अनुसार झुपडीमा जीवन गुजार्दै आएका दलित तथा माझी समुदायका नागरिकहरूलाई सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत पक्की घर निर्माण थालिएपछि केही व्यक्तिहरूले योजनावद्ध रूपमा विकासको काममा व्यवधान ल्याउने प्रयत्नमा छन ।हाल जीतपुरसिमरा– १६ मा विपन्न र दलित समुदायका लागि २० वटा पक्की घर निर्माण भइरहेको छ ।
















