नरेश गुप्ता
बरियारपुर, २४ असोज– मालपोत तथा भुमिसुधार कार्यालय बाराका कर्मचारीहरुले सेवाग्राहीसंग हाक्काहाक्की घुस लिन थालेका छन । कलैयास्थित कार्यालयका कर्मचारीहरुले सर्वसाधारण सेवाग्राहीहरुसंग प्रति फाइल १ सय रुपैयाका दरले घुस लिने गरेका हुन । घुस नदिए कर्मचारीले विभिन्न बाहना बनाएर सेवाग्राहीको काम रोक्ने गरेका हुन ।
कोरोना भाइरस कोभिड– १९ का कारण पालिकापिच्छे छुट्टाछुट्टै तालिका बनाएर सेवा संचालन हुदै आएको भएपनि मालपोत तथा भुमिसुधार कार्यालयका कर्मचारीहरुले प्रति फाईल १ सय रुपैया लिने गरेको आदर्श कोतवाल गाउँपालिकाकी रन्जु देवी साहले बताउनुभयो । जग्गाको दृष्टिबन्धक गर्न बैंक कर्मचारीसंगै बिहीवार मालपोत कार्यलय पुग्न भएकी साहसंग फाँटबाला र लेखनदासको मिलिमतोमा १ सय रुपैया पाएपछिमात्र फाईल अघि बढाएको गुनासो गर्नुभयो ।
मालपोत कार्यालय बाराको मोठ नम्बर २ मा काम गर्दै आएका अमित कुमार सिह र श्याम भनिने अर्का कर्मचारीले सेवाग्राहीसंग फाईलसंगै नगद लिने गरेका हुन । सेवाग्राहीसंग रकम असुल्ने गरेको गुनासोपछि बिहिबार कार्यालयमा पुग्दा कृपा सम्बाददाताको सामुन्नेमा पनि कर्मचारीहरु पहिलेको जसरी नै घुस रकम संकल गरिरहेको अवस्थामा भेटिएका थिए । मालपोत तथा भुमीसुधार र नापी कार्यलयमा लेखनदास र कर्मचारीबीच राम्रो तालमेल छ । उनीहरुको मिलिमतोमा सर्वसाधारणसंग घुस असुल्ने गरिएको हो ।
कोरोना संक्रमण रोक्न भन्दै मालपोत तथा भुमिसुधार कार्यलयले एउटा पालिकाका सेवाग्राहीहरुलाई हप्तामा एक दिनको पालो दिएर सेवा संचालन गर्दैै आएको छ । तर पनि कर्मचारीले समयमै काम नगरी दिदा सेवाग्राहीहरु दिनभरि नै कार्यालय कुरेर बस्नु पर्ने अवस्था छ । कर्मचारीको ढिलासुस्तिले कार्यालयमा भिडभाडसंगै कारोना संक्रमण जोखिमसमेत बढने शंभावना छ ।
कर्मचारीहरुले जग्गाको मोठ भिडाउन, दृष्टि बन्धक, नामसारी, जग्गाधनी पुर्जाको प्रतिलिपि लिन र रजिष्टेशन गराउन सरकारी राजश्वबाहेक पनि थप रकम लिने गरेका हुन । घुस रकम नपाए कर्मचारीले सेवाग्राहीलाई त्यसै अल्झाएर दिनभरि राख्ने गरेको गुनासो छ ।
महागढीमाई नगरपालिका वडा नम्बर– १ बाट काम लिएर जानुभएका जयप्रकाश कुशवाहा १० बजे पुग्दा पनि कर्मचारीले समयमै काम नगरेर कार्यालयमा दिनभरि बस्नु परेको गुनासो सुनाउनुभयो । ‘घुस रकम नपाएसम्म कलम नै चलाउदैनन, उहाँले भन्नुभयो, कर्मचारीको ढिलासुस्तिले सानो काम गराउन पनि दिनभरी बस्नु पर्छ ।’
लेखनदासले फाईलसहित सेवाग्राहीबाट अतिरिक्त रकम पनि लिएर संवन्धित फाँटवाला कर्मचारीलाई बुझाएरको खण्डमामात्रै फाटाफट काम हुने नत्र त्यसै अल्झाएर राख्ने गरिएको हो ।
कार्यालयमा हुने गरेको अनियमितता बारे बुझन खोज्दा मालपोत तथा भुमिसुधार कार्यलय बाराका प्रमुख रामकृष्ण उप्रेती मोवाइल फोन सम्पर्कमा आउन चाहानुभएन ।
देशमा गणतन्त्रसंगै संघीयता लागू भएर स्थानीय सरकारमार्फत गाउँगाउँमा सिंहदरवार पुगेको बताइएपनि सर्वसाधारण जनतासंग प्रतक्ष्य सम्बन्धित बाराको मालपोत र भुमिसुधार जस्ता सरकारी कार्यालयहरुमा हुने घुसखोरी र ढिलासुस्ति अन्त्य नहुदा जिल्लाबासीमा निराशा बढेको छ ।