गोकुल घोरसाइने
निजगढ,पूर्वमन्त्री एंव नेकपा एमालेका प्रभावशाली नेता पुरुषोत्तम पौडेलले विगत केही दिनदेखि बारा १ का एमाले उम्मेदवार अच्युत मैलालीको चुनाव प्रचारको लागि निजगढमा घरदैलो गर्नुभएको छ ।नेता पौडेलले आफ्नो घर रहेको निजगढ नगरपालिकाको वडा नम्बर ९ का विभिन्न टोलमा पुगेर एमाले उम्मेदवार मैनालीको पक्षमा मत माग्दै घरदैलो गरेपछि स्थानीय नेता कार्यकर्ता र मतदाता एबगमभपिनि उत्साही देखिएका छन ।
हाल हेटौडा बस्दैआउनुभएका पौडेलको वडा नम्बर ९ को मतादाता नामावलीमा नाम छ । उहाँले गौरीशंकर क्याम्पस केन्द्रबाट मतदान गर्नुहुने छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारको आकांक्षी समेत रहनुभएका पौडेल विपक्षीहरुको अनुमान विपरित चुनाव प्रचारमा सक्रिय बन्नुभएको हो । पार्टीले टिकट नदिएपछि पौडेल असन्तुष्ट बन्ने र त्यसबाट आफूहरुलाई फाइदा हुने विपक्षी दलका उम्मेदवारहरुले आकलन गरेका थिए ।‘एमालेको पक्षमा भोट माग्दै पौडेलले यसरी घरदैलो आउनुहुन्छ होला भनेर कतिपय विपक्षी उम्मेदवारहरुले सोचेका पनि थिएनन्, एमाले निजगढ नगर कमिटीका सचिव थानेश्वर सापकोटाले भन्नुभयो, तर पौडेलको सक्रियताले एमाले विरोधीहरुलाई निराश र हतोत्तसाही तुल्याएको छ ।’
मनोनयन पत्र दर्ता गर्ने दिनदेखि पार्टीका प्राय सबै चुनावी कार्यक्रममा पौडेल उम्मेदवार मैनालीसंगै हुनुहुन्छ । मैनाली निजगढ क्षेत्रको घरदैलोमा व्यस्त रहँदा ३ दिनअघि पौडेल सिम्रौनगढ नगरपालिकामा चुनाव प्रचार सम्पर्क कार्यालय उद्धाटन गर्न पुग्नुभएको थियो । यसअघि पनि निजगढ र कोल्हबी नगरपालिका तथा आदर्शकोतवाल र बारागढी गाउँपालिकामा भएका कार्यकर्ता भेला, सभा र कार्यकर्ता भेटघाटमा पनि पौडेल सरिक रहनुुभएको थियो । दुबै नेताहरुले समन्वय गरेर चुनाव प्रचार अभियान संचालन गर्दैआएका छन ।
संविधानसभा सदस्य पौडेल यस पटक बारा १ बाट टिकटको आकांक्षी हुनुहुन्थ्यो । । एमाले क्षेत्रीय कमिटीले नाम सिफारिस गरेपनि पार्टीले मैनालीलाई उम्मेदवार बनाएको हो । जिल्लाको पार्टीभित्रको आन्तरिक राजनीतिमा विगत लामो समयसम्म पौडेल र मैनालीले एकअर्काको सहयोगीको रुपमा काम गरेका थिए । ०४८ सालपछि पौडेललाई जिल्ला कमिटी सचिव बनाउन मैनालीले सहयोग गर्नुभएको थियो भने त्यसपछि पौडेलकै सहयोगमा मैनाली पनि पार्टीको जिल्ला सचिव बन्नुभएको थियो ।
त्यसैगरी विद्यार्थी आन्दोलनको क्रममा ०३७ सालमा दुबै जना संगै जेल पर्नुभएको थियो । तर पछिल्लो समय पार्टीको आन्तरिक विवादमा भने पौडेल र मैनालीको धार फरक छ । पौडेल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको आलोचकको रुपमा चिनिदै आउनुभएको छ र मैनाली भने अध्यक्ष ओलीको समर्थक हुनुहुन्छ ।
उम्मेदवार मैनालीले पार्टीको आन्तरिक विषयमा फरक फरक बुझाइ भएपनि पार्टी निर्माणको विषयमा आफूहरु संगै रहेको बताउनुभयो । ‘पार्टीभित्रको आन्तरिक मतान्तरले पार्टी हित र निर्वाचनमा असर पार्दैन, मैनालीले भन्नुभयो, हामी हिजो पनि एक थियौं, आज पनि एकै छौं र भोलि पनि हुने छौं ।’
जिल्लामा कार्यकर्ताबीच निकै लोकप्रिय नेता मानिने पौडेल क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार किसान श्रेष्ठ र ३ मा ज्वाला साह र २ का उम्मेदवार बलवीर चौधरीको चुनाव प्रचारमा पनि सक्रिय रहदैआउनुभएको छ । जिल्लामा भूमिगतकालदेखि नै पार्टी संगठनको काममा सक्रिय रहदै आउनुभएका पौडेलको जिल्लाको सबै क्षेत्रमा कार्यकर्ता र मतदातामा पनि राम्रो प्रभाव रहेको मानिन्छ ।
नेता पौडेलले भने पार्टीले कुनै जिम्मेवारी तोकेर नदिएको र उम्मेदवारहरुको व्यक्तिगत आग्रहमा मात्र आफू चुनाव प्रचारमा खटिएको बताउनुभयो । ‘जिम्मेवारी तोकेर दिइएको छैन, उहाँले भन्नुभयो, तर उम्मेदवार साथीहरुले खबर गरेर बोलाएको ठाउँमा पुगेर सकेको सहयोग गर्दैआएको छु ।’
०५१ सालमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी पौडेल ०७० को संविधान सभामा जिल्लाकै क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनुभएको थियो । दुई वर्षअघि भएको क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पनि पौडेल एमालेको तर्फबाट उम्मेदवार बनेर पराजित बन्नुभएको थियो ।



















