निजगढ,अखिल नेपाल महिला संघ मधेस प्रदेश कमिटीले बाराको पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।अनेमसं मधेस प्रदेश अध्यक्ष अञ्जु नेपालीले बुधवार विज्ञप्ति जारी गरेर आक्रमणको घटनामा दोषिमाथि कारबाहीको माग गर्नुभएको हो ।अध्यक्ष नेपालीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहेको व्यक्तिले कानुन हातमा लिएर अर्को महिला जनप्रतिनिधिको मनोवल कमजोर बनाउने गरि अराजकता सृजना गर्ने, आतंक फैलाउने, समाजलाई भयवित बनाउने जस्ता प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रलाई चुनौति दिने क्रियाकलाप गरिएको घटनाप्रति घोर निन्दा र भर्सना गर्दछौं ।’उपप्रमुख खातुनको घरमा शनिवार राती पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणमा परेर खातुनसहित उहाँका श्रीमान नेवाजी अन्सारी र अर्का एक छिमेकी कन्हैया साह घाइते भएका थिए । उपप्रमुख खातुनको अवस्था सामान्य भएपनि श्रीमान नेवाजी र साहको अवस्था गंम्भीर छ र उनीहरुको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।