काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताउनुभएको छ । काठमाण्डौमा आयोजित कार्याक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताउनुभएको हो ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएलगत्तै कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका€ स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।


















