नेपालमा भूकम्प गएको आज ठ्याक्कै ६ वर्ष पूरा भयो । भूकम्पले ठूलो क्षति गरेको छ । भूकम्पका कारण भत्किएको ऐतिहासिक धरहराको पुनर्निर्माण पनि भएको छ । ६ वर्षअघि भूकम्पले भत्काएको धरहरा उठेको छ । निकै ठूलो बहस र विवादकैबीच सबल धरहरा तयार भएको छ । यसलाई सबैले सकारात्मकरूपमा लिएको देखिन्छ । नेपालको पहिचान बनेको धरहरा पुनर्निर्माण हुनु र समयसापेक्ष ढंगले आधुनिक मजबुति र पुरानो मौलिकताका साथ यसलाई खडा गर्नु साँच्चिकै खुसीको विषय हो । ऐतिहासिक सम्पदा पुरानै शैलीमा तर नयाँ प्रविधिमा निर्माण गर्न सफल भएकोमा सरकार, इन्जिनियरलगायतका प्राविधिज्ञहरु धन्यवादका पात्र छन् । तर, धरहरा ठडिए पनि यसको परिसरमा अझै भौतिक पूर्वाधार निर्माणको काम बाँकी नै रहेका बेला उद्घाटनको हतारो चाहिँ किन भयो, यो प्रश्न भने अनुत्तरित रहेको छ । कुनै पनि आयोजना सम्पन्न भएर त्यसको परीक्षण भएपछि मात्र उद्घाटन गर्ने प्रचलन रहेको छ ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा हतार–हतार निर्माण नै सम्पन्न नभई उद्घाटन भएको छ । धरहरा निर्माण गरेको सरकारका प्रधानमन्त्रीले नै उद्घाटन गर्ने विषयमा कुनै विवाद छैन । तर, निर्माण नै सम्पन्न नभई उद्घाटन गर्न किन हतारो ? धरहरा परिसरमा निकै तामझामसहित उद्घाटन गरिएको धरहराको अझै धेरै काम बाँकी नै छ । आयोजना सम्पन्न नभई उद्घाटन गर्ने यो कस्तो प्रचलन हो ? एकातिर संरचनाको निर्माणले पूर्णता नपाएको यथार्थता छ भने अर्कातिर कोरोना महामारीका कारण उद्घाटन समारोह स्वाभाविक देखिन्न । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ ।
तर, प्रधानमन्त्री ओली सहभागी भएको कार्यक्रममा सयौं मानिस भेला भएका देखिन्छन् । नियम–कानुन जनतालाई मात्र हो कि सरकारलाई पनि लाग्छ भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ । विकास निर्माणको काम गर्ने सरकारले नै हो । यसमा कुनै विवाद नै छैन । अहिले मुुलुक कोरोनाको दोश्रो लहरबाट आक्रान्त छ यस्तो अवस्थामा प्रधानमंत्री ओली सयौंलाई भेला गरेर धरहरा उद्घाटनमा लाग्नु काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भएन र ?