आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा पुनः विवाद चर्किएपछि कार्यालयबाट प्रवाह गरिने आवश्यक सेवाबाहेकको सबै कामकाज आजबाट ठप्प भएको छ ।विशेष नगरसभाको विषयलाई लिएर हिजो पौष २८ गते सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरी र उपप्रमुख नजमु शेहरबीच विवाद उत्पन्न भएको थियो । सो विवादका क्रममा उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरीमाथि गालीगलौज गर्नुका साथै हातपातसमेत गरेको आरोप लगाइएको छ ।

उक्त घटनाप्रति सम्पूर्ण कर्मचारीहरूको ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको गरिमा, मर्यादा तथा सुरक्षामाथि प्रत्यक्ष आघात पुगेको भन्दै भत्र्सना गरिएको छ । कर्मचारीहरूको सुरक्षा, सम्मान र कार्य वातावरण सुनिश्चित नभएसम्म सिम्रौनगढ नगरपालिका अन्तर्गतका कार्यालयहरूमा (शैक्षिक संस्थाबाहेक) आवश्यक सेवाबाहेकका सबै सेवा अर्को आदेश नआएसम्म अनिश्चितकालका लागि स्थगित गरिएको नगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

हिजो कार्यपालिका बैठक सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृत लहेरीको कार्यकक्षमा पुगेर उपप्रमुख नजमु शेहरसहित केही जनप्रतिनिधि पुगेर कार्यपालिका बैठकको निर्णय स्थगित गर्न माग गरेका थिए । सो क्रममा अधिकृत लहेरीले उक्त विषय आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने र मेयरसँग कुरा गर्न सुझाव दिएपछि विवाद बढ्दै गालीगलौजको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शी एक जना जनप्रतिनिधिले जानकारी दिएका छन् ।यसैबीच हिजो नगरपालिका कार्यालयमा भएको विवादलाई लिएर पीडित पक्ष सदरमुकाम कलैया पुगेको र यस विषयमा दुबै पक्षबीच भोलि कलैयामा वार्ता हुने जनाइएको छ ।

Leave a Reply