वीरगन्ज,गाँउमा लागेको मेलाको बहानामा पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयहरु दुई दिनका लागि बन्द गरिएका छन ।

बहुदरमाई नगरपालिका वडा नम्बर २ ध्यानसिंह पिपरास्थित बुदरमाई मन्दिरमा कात्तिक पूर्णीका अवसरमा मंसिर ३ गतेदेखि ५ दिने मेला लागेको छ । त्यहि मेलाका लागि नगरपालिकामा रहेका ९ वटै वडाका सबै १७ वटा विद्यालयहरु आइतबार र सोमबार दुई दिनका लागि बन्द गरिएको हो ।

मेलाका लागि विधालय बन्द गरिदा विधार्थीहरु पठपाठनबाट बन्चित भएका छन् । शिक्षकहरुले आफु खुशी विद्यालय बन्द गरेको अभिभावकहरुले गुनासो गरेका छन् । नगरपालिकाको शिक्षा शाखा समन्वयकर्ता पार्वती पौडेलका अनुसार गत बिहीबार नगरपालिकाको कार्यालयमा बसेको प्रध्यानाध्यापकहरुको बैठकले मेलाका लागि सबै विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा ऐनमै स्थानीय स्तरका चाडपर्व वा मेलाका लागि आवश्यक परेको खण्डमा प्रध्यानाध्यापकहरुको सहमतिमा विद्यालय बन्द गर्न सकिने व्यवस्था उल्लेख भएकाले त्यहि अधिकारको प्रयोग गरिएको पौडेलले बताउनुभयो । नगरपालिका अन्तर्गत रहेका १० वटा आधारभूत विद्यालय र ६ वटा मावि विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको पौडेलले बताउनुभयो ।

यता मेलाका लागि दुई दिन विद्यालय बन्द गरिदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै अभिभावकका साथै कतिपय शिक्षकहरुले नै असन्तुष्टि जनाएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरियाविर्ता दापुका स्थानीय युवा राकेश यादवले मेलाका नाममा विद्यालय बन्द गर्नु उचित नभएको बताउनुभयो । कोभिडले लामो समय शैक्षिक संस्थाहरु बन्द रहदा पठनपाठनबाट बन्चित भएका बालबालिकाहरु अहिले फेरि मेला र उत्सवका नाममा बन्द गरिदा थप मर्कामा परेको उहाँले बताउनुभयो ।

कोभिड संक्रमणको महामारी र त्यसलगत्तै परेको ठूला चाडपर्बका कारण लामो समय विद्यालय बन्द रहदा पाठ्यक्रम अनुसारको कोर्स सकाउन नसकिरहेका बेला फेरि मेलाका नाममा विद्यालय बन्द गर्नु उचित नभएको वडा नम्बर ८ रामनगरीस्थित देवनन्दन देवराज नमूना माविका प्रधानाध्यापक मनोज श्रीवास्तवले बताउनुभयो ।

दशै, तिहार र छठको एक महिना लामो विदापछि कात्तिक २८ गतेबाट खुलेका विद्यालय, अहिले फेरि मेलाका लागि २ दिन बन्द गरिएको उहाँले बताउनुभयो । महामारी र चाडपर्बको लामो विदाले विद्यार्थीहरुको कोर्स पुरा हुने स्थिति नदेखिएपछि सोमबार आफनो विद्यालयमा बसेको व्यवस्थापन समितिको बैठकले आगामी आइतवारदेखि कोचिङ कक्षा सन्चालन गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।

शिक्षक अभावमा पठनपाठन ठप्प

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

कोरोना भाइरसको महामारीपछि विद्यालय खुले पनि शिक्षक अभावका कारण अहिलेसम्म पाठ्यक्रमको शुरुवात समेत नभएको कक्षा १० मा अध्ययनरत छात्र कृष पटेलले दुखेसो पोख्नु भयो । पटेलका अनुसार विद्यालयमा नेपाली, विज्ञान र अर्थशास्त्र विषयको विषयगत शिक्षक नहुँदा ती सबै विषयको पढाइ नै शुरु भएको छैन ।

विद्यालयभित्र शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुले पनि पठनपाठनभन्दा राजनीतिलाई बढी प्राथमिकता दिने गरेको विद्यार्थीहरुको आरोप छ । विद्यालयका प्रधानाध्यापक ध्रुब रामले शिक्षक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपनि अरु शिक्षकहरुले प्रधानाध्यापक रामविरुद्ध मुद्दा दर्ता गरेर काम गर्न नदिएको विद्यार्थीहरुको भनाइ छ । पटक पटक शिक्षक व्यवस्थापन गरेर पठनपाठनलाई तिव्रता दिनु पर्ने माग गर्दा पनि मागको सम्बोधन हुन नसकेकोले अब विद्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिने चेतावनी पनि विद्यार्थीहरुले दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललन राउत कुर्मीले भने आफु अहिले खेतीपातीमा व्यस्त भएको प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here