वीरगन्ज,अस्पतालमा बेड नपाएर होम आइशोलेसनमा बस्न बाध्य भएका कोरोना संक्रमतिहरुलाई वीरगन्ज महानगरपालिकाले बुधबारदेखि घरमै पुगेर औषधि वितरण गर्न थालेको छ । बुधबारदेखि महानगरपालिकाले होम आइशोलेसनमा बसेका संक्रमितहरुलाई घरमै पुगेर निशुःल्क औषधि बाड्न थालेको हो । पहिलो दिन बुधबार महानगरका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ५ स्थित एकै परिवारका ५ जना संक्रमतिलाई उनीहरुको घरमै पुगेर औषधि वितरण कार्यको शुरुवात गर्नु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जिल्लामा ८ सय ६० संक्रमित होम आइशोलेसनमा छन् । ती मध्ये ९० प्रतिशत भन्दा बढी संक्रमित वीरगन्ज महानगरका छन् । अस्पतालमा बेडको कमीले होम आइशोलेसनमा बस्न बाध्य संक्रमतिहरुको उपचार प्रभावित नहोस् भनेर महानगरपालिकाले घरघरमै पुगेर आवश्यक औषधि निशुल्क बाड्न थालेको नगर प्रमुख सरावगीले बताउनुभयो । महानगरका होम आइशलेसनमा रहेका सबै संक्रमितहरुको घरघरमै महानगरका स्वास्थ्यकर्मीहरु पुगेर नियमित रुपमा औषधि वितरण गर्ने उहाँले बताउनुभयो । यदि कोहि छुटेमा वा कसैलाई तत्कालै औषधी आवश्यक परेमा महामनगरका स्वास्थ्यकर्मी जहिर आलमको मोबाइल नम्बर ९८६०१३४५२३ मा सम्पर्क गरेर निशुल्क औषधि लिन सक्ने जानकारी उहाँले दिनुभयो । महानगरपालिकाले बाड्न थालेको औषधिको प्याकेटमा संक्रमितका लागि १० दिनसम्म आवश्यक पर्ने आठ प्रकारका छन् ।