नेपाली काँग्रसको एउटा पक्षले पर्सि पुस २७ गतेका लागि विशेष महाधिवेशनको आह्वान गरेको छ र उनीहरुले विशेष महाधिवेशनको माग एक, डेढ महिना अगाडिदेखि नै गर्दैआएका हुन ।मुख्यतः महामन्त्रीहरु गगन थापा र बिश्वप्रकाश शर्मा पक्षधर कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले यो विषयलाई उठाएका हुन् र उनीहरु काँग्रेसभित्र संस्थापन पक्ष इतर समूहको रुपमा चिनिदै आएका छन ।
संस्थापन पक्ष भने बैशाखमा महाधिवेशन गर्नपर्छ भन्ने पक्षमा देखिएको छ । त्यसलाई उनीहरुले नियमित महाधिवेशन पनि भनेका छन् ।जे भएपनि काँग्रेसमा महाधिवेशन र नेतृत्व हस्तान्तरणको कुरा जोडतोडका साथ उठेको छ । यो काँग्रेसको आन्तरिक लोकतन्त्रका लागि राम्रो मान्न सकिन्छ । यसैका कारण पार्टी विभाजन भए त यो कुरा नराम्रो होला नत्र कम्तीमा काँग्रेसमा आन्तरिक लोकतन्त्र छ भन्ने कुरा यसले पनि स्पष्ट पार्छ ।
काँग्रेसमा बाहेक अरु पार्टीका यो समस्या देखिएको भए पक्कै सहज हुन्थेन होला । पार्टी विभाजन पनि हुन्थ्यो होला वा कारबाहीको श्रृखला पनि चल्थ्यो होला । हुनत काँग्रेसमा पनि यो हुन सक्छ तर आजको दिनसम्म चैं यो हुने संभावना कमै देखिन्छ ।अहिलेको माग भनेको नै हरेक पार्टीमा पुस्ता स्थानतरण नै हो । अहिलेसम्म कुनै पनि पार्टीले यसको अनुशरण गरेको देखिदैन । काँग्रेसमा भयो भने त्यो सही नै मान्नु पर्दछ । जे भएपनि काँग्रेस देशको सबैभन्दा पुरानो पार्टी हो । यसले लोकतन्त्रको संरक्षण पनि गर्नुपर्दछ । अरु भनेका खहरे पार्टी हुन् भन्ने पनि छ ।अब आफ्नो घरभित्र लागेको आगो काँग्रेसले कसरी निभाउन त्यसका लागि केही दिन मात्रै कुरौं ।
















