नेपालमा अब दुईखाले राजनीतिक प्रवृत्ति देखिनेवला छ र यसको केही छनकहरु सतहमा आइसकेका पनि छन् ।
नयाँ र पुराना भनिएका दलहरुकाबीचमा अब चैं मोर्चाबन्दी हुने संभावना प्रवल देखिएको छ । नयाँ दल वा शक्तिले मोर्चाबन्दी गरेपछि पुराना दलहरु एक ठाउँमा उभिएका छन् । हुन त त्यो उनीहरुको बाध्यता हो, एक्लै चुनाव लड्दा अब खैरियत नहुने भएपछि गठबन्धन गर्नुपर्ने बाध्यता यिनीहरुमा आएको हो । गठबन्धनको सुरुवात दलहरुले गरिसकेका छन् । राष्ट्रिय सभाको चुनावमा दलहरुकाबीचमा भएको मोर्चाबन्दीले यो कुराको पुष्टि गरेको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि मुख्य र पुराना भनिएका दलहरुकाबीचमा भएको गठबन्धनले पुराना दलहरु एक भएको स्पष्ट संकेत गरेको छ । अब फागुन २१ मा हुने चुनावमा पनि यिनीहरुका बीचमा तालमेल हुनेछ र यो नौलो कुरा पनि भएन । अबको नेपालको राजनीतिक परिदृश्यमा जसले जे भनेपनि नयाँ र पुराना दलहरु अमनेसामने हुने निश्चित भएको छ । अब नयाँ शक्ति एक ठाउँमा र पुराना शक्ति अर्को एक ठाउँमा हुनेछन ।त्यसैले अब काँग्रेस, कम्यूनिष्ट भन्ने पनि खासै नाममा मात्र हुने भयोभन्दा फरक पर्दैन । सिद्धान्तको कुरा सबै सकिएको छ । अब मुख्यतः सत्ता र शक्तिका लागि उनीहरु एक हुनेछन् । आफ्नो अस्तित्वका लािग उनीहरु एक ठाउँमा आउनेछन् र आफ्ना भएका संगठनहरुलाई परिचालन गरी चुनाव जित्ने नीति हुनेछ ।
आम नागरिकहरुले एक पटक नयाँलाई मौका दिन खोजेको जस्तो पनि देखिन्छ तर यसको पनि स्पष्ट संकेत आइसकेको छैन । मतदातामा पुराना दलहरुमा वितिष्णा छ । तर उनीहरुले नयाँमाथि पनि भरोसा गरिसकेका छैनन । यस्तो अवस्थामा मत कता कसरी जान्छ त्यसका लागि भने चुनावको समय नै कुर्न पर्नेछ तर पुराना दलको पारा भने उस्तै देखिएको छ, जुन जेनजी आन्दोलनको भावना विपरित हो ।

















