वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नमबर १० स्थित श्री दुर्गा क्यारियर (ट्रान्सपोर्ट) मा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयले संयुक्त रूपमा छापा मारी गरेर लाखौँ मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण वीरगञ्जका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्रबहादुर सिंहका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख डिएसपी सुरज रिजाल नेतृत्वको टोलीले वीरगञ्ज भन्सार कार्यालयसँग मिलेर श्री दुर्गा ट्रान्सपोर्टमा छापा मारी गरेर ५० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

छापामारी गर्दै टोलीले श्री दुर्गा ट्रान्सपोर्टको गोदामबाट भन्सार छलीको कपडा, काजु, ग्याँस चुलो, ब्रेड क्र्म्स लगायतका सामग्री बरामद गरिएको डिएसपी सिंहले जानकारी दिनुभयो । बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि पठाइएको उहाँले बताउनुभयो ।
शनिवार बिहान भारतबाट चार पोका कपडा बोकेर वीरगञ्ज भित्रिएको चार वटा अटोलाई वीरगञ्ज– २ छपकैयास्थित इदगाह चोकबाट सशस्त्र प्रहरीले पछ्याएको थियो । अटोहरू आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियरमा पुगेर गोदामभित्र लगेर सामान राख्ने क्रममा सशस्त्र प्रहरीको टोलीले छापा मारी गरेको डिएसपी रिजालले बताउनुभयो । त्यस क्रममा दुई वटा गोदामभित्र भण्डारण गरी राखिएका करिब ५० लाख रुपैयाँको मालसामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सारमा ल्याइएको उनले जानकारी दिनुभयो ।
रिजालले भन्नुभयो, ‘तस्करीको सामान भेटिएपछि हामीले भन्सारका कर्मचारीलाई बोलायौँ । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर दुवै गोदामभित्र रहेका सामानहरू नियन्त्रणमा लिएका हौँ ।’ उहाँकाअनुसार कपडा, काजु, भाँडा तथा ग्यास चुला लगायतका सामग्री बरामद गरिएको हो ।छापामारी गर्ने क्रममा सशस्त्र प्रहरीले प्रक्रिया पूरा नगरेको र गोदाममा रहेको सिसिटिभी क्यामेराको तार चुँडालेको आरोप ट्रान्सपोर्टका सञ्चालक मदन गुप्ताले लगाएका छन् । ट्रान्सपोर्टका सञ्चालक मदन गुप्ताका अनुसार प्रहरीले गुण्डागर्दी शैलीमा गोदाममा रहेको ताल्चा फुटाएर वैद्य र आवश्यक कागजात भएको सामग्रीहरू समेत नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका– १० का वडाध्यक्ष सुशील कुमार कानुले पनि छापामारका बारेमा प्रहरीले आफूलाई कुनै जानकारी नदिएको प्रतिक्रिया दिनुभयो । वडाध्यक्ष कानुका अनुसार सशस्त्र प्रहरीले कानुन मिचेर छापा मारी गरेको छ । छापामारी लगायतका कुनै पनि गतिविधि गर्नु पूर्व प्रहरीले स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर उनीहरूको रोहबरमा गर्नुपर्ने प्रावधान रहे पनि प्रहरीले त्यस्तो नगरेको उहाँको भनाई छ ।यता, छापामारी नेतृत्व गरेका डिएसपी रिजालले भने ताला तोडिएको र सिसिटिभीको तार चुँडालेको कुरा सत्य नभएको दाबी गर्नुभएको छ । डिएसपी रिजालका अनुसार सामग्री जफत गरिएको मध्ये केहीको आवश्यक कागजात समेत भएको हुँदा उक्त सामग्रीहरू फिर्ता गरिने छ ।
















